सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका समसामयिक समस्याबारे प्रधानमन्त्री शाहसंग छलफल

२०८३ साउन १९, ०३:०३ खबर संवाददाता

काठमाडौंः कैलाली क्षेत्र नं. २ का सांसद केपी खनालले सुदूरपश्चिमका समसामयिक तथा जनसरोकारका विभिन्न विषय प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राखेका छन्। प्रधानमन्त्रीसँग भएको भेटघाट तथा छलफलका क्रममा सांसद खनालले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा देखिएका समस्या, पूर्वाधार विकास, स्वास्थ्य, भूमि तथा कृषि क्षेत्रसँग सम्बन्धित विषयमा जानकारी गराएका हुन्।

खनालले कैलालीको चिसापानीदेखि कञ्चनपुरको महेन्द्रनगरसम्मको राजमार्गमा खुला पशुचौपायाका कारण सर्वसाधारणले भोग्दै आएको समस्या र यसको समाधानका उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्। यस्तै, गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल सञ्चालन तथा एमबीबीएससहितका मेडिकल शिक्षा अध्ययनको विषयमा पनि उनले छलफल गरेका छन्।

सुदूरपश्चिमका अव्यवस्थित बसोबासी, सुकुम्बासी तथा ऐलानी जग्गामा बसोबास गर्दै आएका नागरिकलाई लालपुर्जा वितरणको विषयसमेत खनालले प्रधानमन्त्रीसमक्ष राखेका छन्। त्यसैगरी सेती लोकमार्ग, चिसापानी–जंगलघाट सडकखण्ड, खुटिया–दिपायल सडकखण्ड तथा महाकाली करिडोरको अवस्थाबारे पनि उनले जानकारी गराएका छन्।

कृषकले समयमै मल प्राप्त गर्न नसक्दा भोग्दै आएको समस्या लगायत सुदूरपश्चिमका अन्य समसामयिक विषयमा समेत सांसद खनालले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सुदूरपश्चिमका विकास आयोजना र जनतासँग प्रत्यक्ष जोडिएका समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस