सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मी बढेसँगै सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप, दैनिक १,५०० भन्दा बढीले लिँदै सेवा

२०८३ साउन २०, ०७:४९ लक्ष्मण ढुङ्गाल

धनगढी: सुदूरपश्चिममा गर्मीको प्रभाव बढ्दै जाँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ। अस्पतालका अनुसार हाल दैनिक १ हजार ५ सयभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा लिइरहेका छन्।

अस्पतालले गर्मी याममा झाडापखाला, डेंगी, टाइफाइड, विषालु सर्पको टोकाइलगायतका रोगको जोखिम बढ्ने भएकाले सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। अस्पतालले शुद्धीकरण गरिएको वा उमालेको पानी मात्र पिउन, घर तथा वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट बच्न सुत्ने बेला झुल वा अन्य सुरक्षाका उपाय अपनाउन अनुरोध गरेको छ।

विशेषगरी गर्भवती महिला, नवजात शिशु, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू गर्मीका कारण बढी प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक दिउँसोको अत्यधिक गर्मीमा बाहिर ननिस्किन अस्पतालले सुझाव दिएको छ।

सेती प्रादेशिक अस्पतालले मौसमजन्य रोगबाट बच्न व्यक्तिगत सरसफाइमा ध्यान दिन, पर्याप्त पानी पिउन र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा ढिलो नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस