कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा देउवा सहभागी हुने
काठमाडौं: नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्।
विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले पूर्ण निर्णय पुनरावलोकनका लागि निस्सा दिएपछि इतर पक्ष थप उत्साहित बनेको कोइरालाको भनाइ छ। उनका अनुसार अदालतको पछिल्लो आदेशले राष्ट्रिय भेला रोक्ने कुनै अवस्था सिर्जना नगरेको र यसले कार्यकर्तामा थप उत्साह थपेको छ।
कोइरालाले अदालतको निर्णयलाई स्वागत गर्दै अन्तिम न्यायिक निर्णय पनि आफूहरूको पक्षमा आउने विश्वास व्यक्त गरे। उनले राष्ट्रिय भेला पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकताबद्ध बनाउने महत्वपूर्ण अवसर हुने दाबी गरे।
‘पहिले १० देखि २० हजार प्रतिनिधि तथा कार्यकर्ताको सहभागिता हुने अनुमान गरेका थियौं। सर्वोच्चको पछिल्लो आदेशपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ र सहभागिता अझ उल्लेख्य हुने अपेक्षा गरेका छौं,’ उनले भने।
उनले नेता पूर्णबहादुर खड्का स्वास्थ्य अवस्थाका कारण र डा. शेखर कोइराला विराटनगरमा पूर्वनिर्धारित कार्यक्रममा व्यस्त रहेकाले भेलामा उपस्थित हुन नसक्ने जानकारी दिए। यद्यपि, उनीहरू दुवैको अभियानप्रति पूर्ण समर्थन र ऐक्यबद्धता रहेको उनको भनाइ छ।
साउन २६ गते पूर्वसभापति स्वदेश फर्कने क्रममा सम्भावित धरपकडबारे उठेका आशंकालाई पनि कोइरालाले अस्वीकार गरे। यदि त्यस्तो प्रयास भए पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी उनले दिए।
उनले कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक तथा सम्पूर्ण कार्यकर्तालाई राष्ट्रिय भेलामा सहभागी हुन आह्वान गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादका सिद्धान्तका आधारमा पार्टीलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गरे।