सुदूर नेपाललाई विश्वसँग जोड्दै

मल नपाएपछि धनगढी–११ का किसानले वडा कार्यालयमा लगाए ताला

२०८३ साउन २२, ०५:५६ लक्ष्मण ढुङ्गाल

धनगढी । धान रोपाइँ गरेको डेढ महिना बितिसक्दा पनि रासायनिक मल नपाएको भन्दै धनगढी उपमहानगरपालिका–११ का किसानले वडा कार्यालयमा ताला लगाएका छन्। शुक्रबार मल वितरण हुने जानकारी पाएपछि वडा कार्यालय मातहतका सहकारी संस्थामा पुगेका किसानले पर्याप्त मल नपाएपछि आक्रोशित हुँदै वडा कार्यालयमा ताला लगाएका हुन्।

मल वितरण हुने आशामा बिहानैदेखि सहकारीमा पुगेका किसानले आवश्यक मात्रामा मल उपलब्ध नभएको गुनासो गरेका छन्। धान रोपाइँ सम्पन्न भएको लामो समय बितिसक्दा पनि खेतीका लागि आवश्यक मल नपाउँदा धानबाली प्रभावित हुने भन्दै किसानले वडा कार्यालय र सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका हुन्।

किसान हरिस खड्काका अनुसार धान रोपाइँ गरेको करिब डेढ महिना भइसकेको छ। तर, अहिलेसम्म आवश्यक मल नपाएपछि बाध्य भएर वडा कार्यालयमा ताला लगाउनुपरेको उनले बताए।

“धान रोपेको डेढ महिना भइसक्यो, अहिलेसम्म मल पाएका छैनौँ। मल वितरण हुन्छ भनेर सहकारीमा पुग्यौँ, तर पर्याप्त मल आएन। खेतीको मुख्य समयमा मल नपाएपछि किसानले के गर्ने ?” खड्काले भने।

धनगढी उपमहानगरपालिका–११ अन्तर्गत सफलता महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र श्री परिवर्तन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मार्फत किसानलाई मल वितरण हुँदै आएको छ। तर, दुवै सहकारीले किसानको मागअनुसार पर्याप्त मल उपलब्ध गराउन नसकेको किसानहरूको गुनासो छ।

किसानहरूले थोरै मात्रामा मल आए पनि समानुपातिक रूपमा वितरण नभएको आरोप लगाएका छन्। केही किसानले आफूहरूले मल नपाएको तर सीमित मात्रामा आएको मलसमेत पहुँच र आफन्तका आधारमा वितरण गरिएको गुनासो गरेका छन्।

किसान खड्काले भने, “थोरै मल आए पनि सबै किसानलाई समान रूपमा वितरण भएको छैन। आफ्ना आफन्त र पहुँच भएका व्यक्तिले मात्र मल पाउने अवस्था छ। हामी जस्ता सामान्य किसानले भने खेतीको समयमा मल नपाएर समस्या भोगिरहेका छौँ।”

किसानहरूका अनुसार कैलालीमा हरेक वर्ष धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको अभाव हुने गरेको छ। समयमै मल उपलब्ध नहुँदा किसानले उत्पादन घट्ने जोखिमका बीच खेती गर्नुपर्ने अवस्था आएको उनीहरूको गुनासो छ।

“केही वर्षयतादेखि नै मलको अभावमै खेती गर्नुपरिरहेको छ,” किसानहरूले भनेका छन्। सरकारले कृषि उत्पादन बढाउने र किसानलाई प्रोत्साहन गर्ने नीति लिए पनि खेतीको अत्यावश्यक समयमा मलसमेत उपलब्ध गराउन नसक्नु विडम्बना भएको उनीहरूको भनाइ छ।

मल अभावको समस्या समाधान गर्न धनगढी उपमहानगरपालिकाले समेत प्रभावकारी पहल नगरेको किसानहरूको आरोप छ। स्थानीय तहले किसानका समस्या सुन्ने र आवश्यक मलको व्यवस्थापन तथा सहजीकरण गर्नुपर्ने भए पनि वडा र उपमहानगरपालिकाबाट त्यसतर्फ पर्याप्त ध्यान नदिइएको उनीहरूको गुनासो छ।

किसानहरूले वडा कार्यालयले समेत आफ्नो जिम्मेवारी वहन नगरेको आरोप लगाएका छन्। मल वितरणको विषयमा पटक–पटक समस्या दोहोरिँदा पनि स्थायी समाधानका लागि पहल नभएको भन्दै उनीहरू आक्रोशित भएका हुन्।

मलको समस्या समाधानका लागि तत्काल पहल गर्न माग गर्दै किसानहरूले धनगढी–११ नम्बर वडा कार्यालय अनिश्चितकालका लागि बन्द हुने गरी ताला लगाएका छन्। उनीहरूले धनगढी उपमहानगरपालिकाले किसानको समस्यामा उचित पहल गरी आवश्यक मल उपलब्ध गराउन सहजीकरण नगरेसम्म ताला नखोल्ने चेतावनी दिएका छन्।

किसानहरूले खेतीको मुख्य समयमा मल नपाउँदा धानको उत्पादनमा प्रत्यक्ष असर पर्ने भन्दै तत्काल आवश्यक मात्रामा मल उपलब्ध गराउन माग गरेका छन्। साथै, मल वितरण प्रणालीलाई पारदर्शी बनाउन र सबै किसानलाई समान आधारमा मल उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

स्थानीय किसानका अनुसार मलको अभाव यस वर्ष मात्रै देखिएको समस्या होइन। हरेक वर्ष खेतीको समयमा मलका लागि किसानले सहकारीदेखि स्थानीय तहसम्म धाउनुपर्ने अवस्था दोहोरिने गरेको छ। समयमै मल नपाउने, सीमित मात्रामा आएको मल पनि पर्याप्त नहुने र वितरणमा पहुँचका आधारमा विभेद हुने अवस्थाको अन्त्य गर्नुपर्ने किसानहरूको माग छ।

वडा कार्यालयमा ताला लगाएपछि स्थानीय तहले किसानसँग संवाद गरी समस्या समाधानका लागि तत्काल पहल गर्नुपर्ने अवस्था सिर्जना भएको छ। किसानहरूले आफूहरूको मागलाई बेवास्ता गरिए आन्दोलन थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस