तीनवटै प्रज्ञा प्रतिष्ठानको पदाधिकारीमा सुदूरपश्चिम शून्य, सभा सदस्यमा ९ जना मात्रै
धनगढीः सरकारले तीनवटै प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गर्दा सुदूरपश्चिम प्रदेश पूर्ण रूपमा उपेक्षामा परेको भन्दै यहाँका साहित्यकार, कलाकार तथा संस्कृतिकर्मीले असन्तुष्टि जनाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन शाहले साउन २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य–सचिव र परिषद् सदस्य नियुक्त गरेका हुन्।
तीनवटै प्रतिष्ठानमा कुल २९ जना पदाधिकारी नियुक्त हुँदा सुदूरपश्चिमबाट भने एक जना पनि समेटिएका छैनन्। कर्णालीबाट पनि एक जना मात्रै नियुक्त भएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा कुमार नगरकोटी कुलपति, अविनाश श्रेष्ठ उपकुलपति र रोशन शेरचन सदस्य–सचिव नियुक्त भएका छन्। परिषद् सदस्यमा प्रतिसरा मानन्धर, कृष्णराज चौधरी, सीता सुब्बा, तीर्थबहादुर गुरुङ, रूपाकुमारी सिरहा, नवीन नेपाली, दीपक सापकोटा र दुर्गाबहादुर घर्ती नियुक्त भएका छन्।
त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा एरिणा ताम्राकार कुलपति, चन्द्रश्याम डंगोल उपकुलपति र कैलाशकुमार श्रेष्ठ सदस्य–सचिव नियुक्त भएका छन्। परिषद् सदस्यमा जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र वीणा पौड्याल छन्।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा ब्रजेश खनाल, उपकुलपतिमा झुमा बनेम र सदस्य–सचिवमा भूपेन्द्रसिंह रायमाझी नियुक्त भएका छन्। परिषद् सदस्यमा छेन्दोक हाङ्ग राई, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ नियुक्त भएका छन्।
नियुक्त पदाधिकारीको ठेगाना हेर्दा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व भए पनि सुदूरपश्चिमबाट भने कुनै पनि व्यक्ति नपरेको भन्दै आलोचना भएको हो।
सुदूरपश्चिम कला, साहित्य, सङ्गीत तथा संस्कृतिका क्षेत्रमा समृद्ध भए पनि राज्यका महत्वपूर्ण सांस्कृतिक निकायमा हुने नियुक्तिमा प्रदेशको प्रतिनिधित्व नहुनुले यहाँका स्रष्टा तथा संस्कृतिकर्मी असन्तुष्ट बनेका छन्।
साहित्यकार हेमबाबु लेखकले तीनवटै प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा सुदूरपश्चिम निषेध गरिएको बताएका छन्। उनले प्राचिन मानसखण्ड, काली-कर्णालीको भूगोलको उपेक्षा गरिएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम र कर्णालीबाट पदाधिकारी नियुक्तिमा नहुनु भाषा, कला, साहित्य, संस्कृति र पुरातात्त्विक इतिहासको पनि अपमान गरेको प्रतित भएको उल्लेख गरेका छन्।
गायक रामप्रसाद अवस्थीले सुदूरपश्चिम र कर्णालीबाट २/३ जना सभा सदस्य मात्रै नियुक्त गरेर पदाधिकारिमा यो क्षेत्रलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन्।
यस्तै, पूर्व मन्त्री भीम रावलले सरकारले तीन वटा प्रज्ञा प्रतिष्ठानमा २९ जना पदाधिकारी नियुक्त गरेकोमा एक जना पनि सुदूरपश्चिमबाट नपरेको भन्दै सरकारको आलोचना गरेका छन्। उनले सदस्यमा ८३ जना मनोनयन भएकामा सुदूरपश्चिमबाट ९ जना परेको उल्लेख गरेका छन्। रावलले 'झिक्कै झिक्कै माया' भनेको यही हो? भनेर प्रश्न गरेका छन्।
८३ सदस्य नियुक्त हुँदा सुदूरपश्चिमका ९ जना
तीनवटै प्रतिष्ठानमा कुल २९ जना पदाधिकारी नियुक्त गर्दा सुदूरपश्चिम शून्य भए पनि ८३ जना परिषद् सदस्य नियुक्त हुँदा भने प्रदेशका ९ जना समेटिएका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा मोहित जोशी, हरिप्रिया श्रेष्ठ, श्यामसुन्दर ढकाल, खड्गकुमार गिरी, हेमन्ती जोशी र किरण पौडेल नियुक्त भएका छन्।
त्यस्तै, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा दीपक आउजी तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा डिकरा वादी र रेखाकुमारी जोशी नियुक्त भएका छन्।
पदाधिकारी तहमा सुदूरपश्चिमलाई पूर्ण रूपमा बाहिर राखिएको र परिषद् सदस्यमा भने ९ जनालाई समेटिएको भन्दै यहाँका साहित्यकार, कलाकार तथा सङ्गीतकर्मीले सरकारको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाएका छन्।