प्रधानमन्त्री बालेनसँग भारतीय राजदूत श्रीवास्तवको भेट
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै दुवै देशको साझा हितका क्षेत्रमा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
यसअघि प्रधानमन्त्री शाहले नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग सामूहिक भेट गरेका थिए। त्यसबेला उनले कुनै पनि विदेशी राजदूतसँग छुट्टै भेटवार्ता नगरेको बताइएको थियो। प्रधानमन्त्री शाहले भेट्न नमानेपछि भारतीय विदेश सचिव विक्रम मिश्रीको निर्धारित नेपाल भ्रमणसमेत रद्द भएको थियो।
अब प्रधानमन्त्री शाहले भारतीय राजदूत श्रीवास्तवसँगै अन्य देशका राजदूतहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यसै क्रममा उनले चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेट गर्ने तयारी छ। त्यस्तै, प्रधानमन्त्री शाहले मंगलबार अमेरिकी राजदूतसँग भेटवार्ता गर्ने तयारी गरेका छन्।