धनगढी ३ का लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता प्रयोजन गर्न निःशुल्क अटो सेवा
धनगढी । धनगढी उपमहानगरपालिका–३ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिक तथा लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता लिन तथा नविकरण गर्न आवतजावतमा सहज होस् भन्ने उद्देश्यले निःशुल्क अटो सेवा सञ्चालनमा ल्याएको छ।
वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता निकासीका लागि बैंक तथा सम्बन्धित स्थानसम्म पुग्न ज्येष्ठ नागरिकलाई हुने असहजतालाई मध्यनजर गर्दै निःशुल्क अटो सेवा सुरु गरिएको वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरले बताए।
उमेर ढल्किँदै गएपछि सार्वजनिक यातायातमा आवतजावत गर्न तथा भत्ता लिन बैंकसम्म पुग्न हुने समस्या कम गर्न यो सेवा प्रभावकारी हुने वडा कार्यालयको तर्क छ । विशेषगरी असहाय, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र एकल महिलालाई लक्षित गरी सेवा सञ्चालन गरिएको अध्यक्ष ऐरले बताए।
यो सेवा साउन २६ मंगलबारदेखि लागू भई आगामी असोज मसान्तसम्म सञ्चालन हुने जनाइएको छ। निःशुल्क अटो सेवामार्फत लक्षित वर्गले सामाजिक सुरक्षा भत्ता लिन आवश्यक स्थानसम्म सहज रूपमा आवतजावत गर्न सक्नेछन्।
वडा कार्यालयले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लक्षित वर्गलाई सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले निःशुल्क अटो सेवा सञ्चालन गरेको जनाएको छ। सेवा सञ्चालनसँगै भत्ता लिन बैंक तथा सम्बन्धित स्थानसम्म पुग्नुपर्ने ज्येष्ठ नागरिक र अन्य लक्षित वर्गलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।