सुदूर नेपाललाई विश्वसँग जोड्दै

धार्मिक द्वन्द्व फैलाउनेलाई ‘कोर्रा’ हान्ने कानुन बनाउन हर्क साम्पाङको प्रस्ताव, राना मगरको आपत्ति

२०८३ साउन २६, ०३:३२ खबर संवाददाता

काठमाडौँ: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले धार्मिक द्वन्द्व तथा धार्मिक स्थलमा तोडफोड र आगजनी गर्नेहरूलाई ‘कोर्रा’ हान्ने कानुन बनाउन प्रस्ताव गरेका छन्।

मंगलबारको संसद् बैठकमा बोल्दै संसदीय दलका नेतासमेत रहेका राईले देशका मस्जिद, मदरसा, गुम्बा, मन्दिर तथा माङखिमजस्ता धार्मिक स्थलमा तोडफोड र आगजनीका घटना हुने गरेको भन्दै यस्ता गतिविधिमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने बताए।

सरकार कमजोर भएकै कारण धार्मिक स्थलमाथि आक्रमण हुने गरेको दाबी गर्दै उनले दोषीलाई प्रभाव र पहुँचका आधारमा छुट दिन नहुने धारणा राखे।

राईले भने, ‘मेरो–तेरो नभनी फटाहाहरूलाई कारबाही गर्नुपर्छ। त्यस्ता व्यक्तिलाई कोर्रा हान्ने कानुन नै बनाऔँ। यही कानुन बनाउने ठाउँ हो।’

उनले दोषीमाथि सामान्य छानबिन र सोधपुछ गरेर सेटिङका आधारमा उन्मुक्ति दिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।

तर, राईले ‘कोर्रा हान्ने कानुन’ बनाउनुपर्ने अभिव्यक्ति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले संसद्मा नियमापत्ति जनाइन्।

पूर्वउपसभामुखसमेत रहेकी राना मगरले अपराध गर्ने व्यक्ति भए पनि नागरिकलाई कोर्रा लगाउने व्यवस्था स्वीकार्य नहुने बताइन्। उनले राईको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनसमेत माग गरिन्।

‘कोर्रा लगाउने र यातना दिनुहुँदैन भन्ने कानुन ल्याउने व्यक्तिमध्ये म पनि पर्छु। जनतालाई कोर्रा लगाउने भन्ने शब्द उपयुक्त भएन। ती शब्द सुधार्नुपर्छ र रेकर्डबाट हटाउन अनुरोध गर्दछु,’ राना मगरले भनिन्।
 

कमेन्ट लोड गर्नुस