सेती प्रादेशिक अस्पतालमा मानसिक रोगको ओपीडी सेवा पुनः सञ्चालन
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा केही महिनादेखि बन्द रहेको मानसिक रोगसम्बन्धी ओपीडी सेवा पुनः नियमित सञ्चालनमा आएको छ।
मानसिक रोग विशेषज्ञ चिकित्सकको अभाव भएपछि अस्पतालमा केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धी ओपीडी सेवा प्रभावित हुँदै आएको थियो। अस्पतालमा छात्रवृत्ति करारअन्तर्गत मानसिक रोग विशेषज्ञ चिकित्सक हाजिर भएसँगै साउन २६ गतेदेखि मानसिक रोगको ओपीडी सेवा नियमित सञ्चालनमा ल्याइएको अस्पताल प्रशासनले जनाएको छ।
सेवा पुनः सञ्चालनमा आएसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीले अस्पतालमै विशेषज्ञ चिकित्सकबाट उपचार तथा आवश्यक परामर्श लिन सक्ने भएका छन्। यसअघि विशेषज्ञ सेवाको अभावमा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो।
मानसिक रोगको ओपीडी सेवा नियमित भएपछि सुदूरपश्चिमका मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ। अस्पताल प्रशासनले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामीलाई आवश्यक उपचार तथा परामर्शका लागि नियमित ओपीडी सेवाको लाभ लिन आग्रह गरेको छ।