कैलालीमा भ्रूणको लिङ्ग पहिचानपछि गर्भपतन हुने गरेको आरोप, तत्काल छानबिनको माग
धनगढी: कैलालीमा भ्रूणको लिङ्ग पहिचान गरी त्यसपछि गर्भपतन गराउने गरेको आरोपसहित तत्काल छानबिन गर्न माग गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलाली तथा जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्बोधन गरी दिइएको निवेदनमा करिब एक महिनाअघि उजुरी गरिए पनि अहिलेसम्म प्रभावकारी रूपमा छानबिन तथा अनुसन्धान नभएको उल्लेख गरिएको छ।
निवेदनमा प्राप्त जानकारीअनुसार भ्रूणको लिङ्ग पहिचान गर्न करिब २२ हजार रुपैयाँ र छोरी भएको थाहा भएपछि गर्भपतन गराउन करिब २६ हजार रुपैयाँसम्म रकम लिने गरेको गम्भीर आरोप लगाइएको छ। यस्तो कार्य भइरहेको भए यसले प्रचलित कानुनको गम्भीर उल्लङ्घन हुनुका साथै महिलाको स्वास्थ्य, अधिकार र जीवनमा समेत गम्भीर असर पार्न सक्ने निवेदकको भनाइ छ।
त्यस्तै, सम्बन्धित फार्मेसीमा मोबाइलबाट कारोबार गर्न नदिने, अनलाइन बैंकिङ कारोबार नगर्ने र नगद कारोबार मात्रै गर्ने गरेको जानकारी प्राप्त भएको भन्दै यस विषयमा समेत आवश्यक अनुसन्धान तथा आर्थिक कारोबारको छानबिन गर्न माग गरिएको छ।
निवेदनमा सम्बन्धित स्थानमा तत्काल गोप्य तथा निष्पक्ष अनुगमन/छानबिन गर्न, भ्रूणको लिङ्ग पहिचान गर्ने कार्य भइरहेको छ वा छैन भन्नेबारे अनुसन्धान गर्न तथा लिङ्ग पहिचानपछि गर्भपतन गराउने सम्बन्धमा आफूले गरेको आरोपको छानबिन गर्न आग्रह गरिएको छ।
त्यसैगरी सम्बन्धित व्यक्ति, स्वास्थ्य संस्था/क्लिनिक तथा फार्मेसीका आवश्यक कागजात, अभिलेख र आर्थिक कारोबारसमेत जाँच गर्न र आरोप प्रमाणित भए प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरिएको छ।
निवेदकले यसअघि गरेको उजुरीमाथि प्रभावकारी छानबिन हुन नसकेकाले त्यसको कारणसमेत खोजी गरी आवश्यक ध्यान दिन आग्रह गरेका छन्।
विषय संवेदनशील भएकाले निवेदनमा गुनासोकर्ताको पहिचान तथा व्यक्तिगत विवरण गोप्य राखी आवश्यक अनुसन्धान गरिदिन विशेष अनुरोध गरिएको छ।
यता, स्वास्थ्य कार्यालय कैलाली भने सुरक्षीत गर्भपतन सेवाको अवस्था अनुगमन गरिएको जनाएको छ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले सुरक्षीत गर्भपतन गराउने निजी स्वास्थ्य संस्थामा समस्या रहेको बताए। उनका अनुसार स्वास्थ्य कार्यालय कैलालीले गत आर्थिक वर्षमा जिल्लाका १२ निजी स्वास्थ्य संस्थामा अनुगमन गर्दा धेरैजसो संस्थामा मापदण्ड नपुगेको, तालिमप्राप्त स्वास्थ्यकर्मी नभएको, इजाजतपत्रबिना सेवा सञ्चालन गरेको तथा सेवा बन्द तथा अभिलेख आदिको प्रतिवेदन नै तयार नगर्ने समस्या छन्।
कुँवरले स्वास्थ्य कार्यालयले सुरक्षीत गर्भपतन गराउने निजी स्वास्थ्य संस्थामाथि आवश्यक निगरानी गरिएको बताए।