बैतडीको सुर्नया–८ रातापानी टोलमा वर्षौंदेखि पहिरोको समस्या, हिजोदेखि झनै बढ्यो जोखिम
संगीता बोहरा, बैतडी: बैतडीको सुर्नया गाउँपालिका–८, ढोले रातापानी टोलमा वर्षौंदेखि पहिरोको समस्या झेल्दै आएका स्थानीय बासिन्दा पछिल्लो पटक पहिरो थप सक्रिय भएपछि त्रसित बनेका छन्।
मंगलबार साँझ करिब ७ बजेदेखि निरन्तर पहिरो बग्न थालेपछि बस्ती नै जोखिममा परेको स्थानीयले बताएका छन्। पहिरोका कारण घर, आँगन, शौचालय, भान्सा, विद्युतका पोल, खानेपानीका पाइप तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ। कतिपय परिवार घरमा बस्नसमेत नसक्ने अवस्थामा पुगेका छन् भने केही स्थानीय छिमेकीको घरमा आश्रय लिएर रात बिताउन बाध्य भएका छन्।
प्रारम्भिक विवरणअनुसार गम्भीरसिंह बोहराको करिब ३ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूलमा क्षति पुगेको छ। घर नजिकै पहिरो पुगेपछि उनको घर तथा आँगनसमेत जोखिममा परेको छ। त्यस्तै जयसिंह, नरबहादुर, शलेन्द्र र कृष्ण बोहराको करिब ५ रोपनी खेतीयोग्य जमिन पनि पहिरोको चपेटामा परेको स्थानीयले बताएका छन्।
उद्ब बोहराको घर उच्च जोखिममा परेको छ। पहिरोका कारण घर–आँगनको पर्खाल, शौचालय र भान्सा पूर्ण रूपमा भत्किएको छ। करिब २ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूलसमेत पहिरोले पुरेको छ।
अर्का स्थानीय धनुवा बोहराको घर पनि पहिरोको उच्च जोखिममा परेको छ। उनको घर–आँगनको पर्खाल, शौचालय र भान्सामा पूर्ण क्षति पुगेको छ। करिब ३ रोपनीमा लगाइएको मकै तथा फलफूल पूर्ण रूपमा नष्ट भएको छ। पहिरोको डरका कारण आफू छिमेकीको घरमा आश्रय लिएर बस्नुपर्ने अवस्था आएको धनुवा बोहराले बताए।
रामसिंह बोहराको घरसमेत उच्च जोखिममा परेको छ। पहिरोले घरको आँगन बगाएको छ भने विद्युतको पोलसमेत ढल्ने अवस्थामा पुगेको छ। नयाँ घर निर्माणका लागि ल्याइएको करिब एक लाख रुपैयाँ बराबरको ढुंगा पहिरोले बगाएको उनले बताए। करिब ३ रोपनीमा लगाइएको मकैबाली तथा फलफूलमा क्षति पुगेपछि रातको समयमा पहिरोको डरले छिमेकीको घरमा गएर बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्।
मिना बोहराको घर–आँगनमा दरार परेको छ। उनको करिब २ रोपनी मकैबारी तथा फलफूलमा क्षति पुगेको छ। त्यस्तै चक्र बोहराको करिब २ रोपनी, आनन्दसिंह बोहराको करिब डेढ रोपनी र धौली बोहराको करिब डेढ रोपनी जमिनमा लगाइएको मकै तथा फलफूलमा पनि पहिरोले क्षति पुर्याएको छ।
पहिरोका कारण विद्युतको पोल ढलेर तारसमेत चुडिएका छन् भने खानेपानीका पाइपसमेत बगाएका छन्। विद्युत् तथा खानेपानी सेवा प्रभावित भएपछि स्थानीयको दैनिक जनजीवन थप कठिन बनेको छ।
त्यस्तै जनक, लाल, पठानसिंह र भानबहादुर बोहराको करिब ५ रोपनी खेतीयोग्य जमिनसमेत पहिरोको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार गम्भीरसिंह बोहरा, धनुवा बोहरा, उदयसिंह, रामसिंह, मिना बोहरा, चक्र बोहरा र कृष्ण बोहरालगायतका परिवार उठिबास हुने अवस्थामा पुगेका छन्।
स्थानीयका अनुसार उक्त क्षेत्रमा २०७४ सालदेखि नै पहिरोको समस्या सुरु भएको हो। वर्षौंदेखि पहिरोको जोखिममा रहेका बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि प्रभावकारी नियन्त्रण तथा दीर्घकालीन समाधान हुन नसकेको उनीहरूको गुनासो छ।
हरेक वर्ष वर्षायाम सुरु भएसँगै पहिरोको त्रासमा बस्नुपर्ने स्थानीय यस वर्ष पनि उस्तै पीडा भोगिरहेका छन्। मंगलबारदेखि निरन्तर पहिरो बगिरहेका कारण रातभर त्रासमा बस्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन्।
स्थानीय राम बोहराका अनुसार पहिरो निरन्तर बगिरहेकाले कुनै पनि बेला योभन्दा ठूलो क्षति हुनसक्ने र पूरै बस्ती नै बग्ने जोखिम रहेको छ। उनले तत्काल पहिरो नियन्त्रण तथा जोखिममा रहेका परिवारको सुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्ने बताए।
स्थानीय सरकारले पटक–पटक पहिरो नियन्त्रणका लागि पहल गर्ने तथा समस्या समाधान गर्ने आश्वासन दिँदै आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको स्थानीयको आरोप छ। वर्षौंदेखि पहिरोको जोखिममा रहेका परिवारको सुरक्षित व्यवस्थापन र पहिरो नियन्त्रणका लागि ठोस पहल नहुँदा स्थानीयमा थप निराशा बढेको छ।
स्थानीयवासीले तत्काल स्थलगत निरीक्षण गरी जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न, क्षतिको उचित मूल्यांकन गर्न, विद्युत् तथा खानेपानी सेवा पुनःस्थापना गर्न र पहिरो नियन्त्रणका लागि दीर्घकालीन योजना अघि बढाउन स्थानीय सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
वर्षौंदेखि पहिरोको डरमा जीवन बिताउँदै आएका सुर्नया–८, रातापानीका बासिन्दाका लागि अहिलेको पहिरो प्राकृतिक विपत्तिमात्र नभई बस्ती नै विस्थापित हुने गम्भीर जोखिम बनेको छ। समयमै सुरक्षित व्यवस्थापन र पहिरो नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए ठूलो मानवीय तथा भौतिक क्षति हुनसक्ने स्थानीयको चिन्ता छ।