कांग्रेस पूर्वसभापति देउवा आज स्वदेश फर्किंदै
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुँदै छन्।
देउवा दिउँसो १२ः३० मा नेपाल फर्किने तय भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारार्थ कात्तिक १० गते राति सिंगापुर गएका थिए। सरकार निकटस्थ विश्वस्त स्रोतका अनुसार देउवाको आवागमनमा कुनै बाधा अवरोध नगर्ने गरी ‘भद्र समझदारी’ बनेको छ।
प्रधानमन्त्री वालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेसम्मलाई यो विषयमा जानकारी भएको ती उच्च अधिकारीको दाबी छ। “ढुक्क भएर उहाँ (देउवा) स्वदेश फर्किंदै हुनुहुन्छ। स्वतन्त्र आवागनमा कुनै बाधा अवरोध या धरपकड त्यस्तो केही नगर्ने, बरु निजी निवाससम्मै कडा सुरक्षामा राखेर पठाउने भन्ने छ,” स्रोतले भन्यो।
देउवालाई सुरक्षाकर्मीले विशेष सुरक्षा दिएर निजी निवास महाराजगञ्जसम्म पु¥याउने तयारी छ। देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पुर्जी जारी गरेका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।
उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डा.आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो।सर्वोच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले गत जेठ ११ गते सीआईबी र विभागका नाउँमा उक्त आदेश जारी गरेको हो ।