सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक किनारमै फूलबारी, सयपत्री बिक्रीबाट आम्दानी गर्दै स्थानीय

२०८३ कार्तिक १७, १०:३८ खबर संवाददाता

 

धनगढीः कैलालीको जानकी गाउँपालिका–१ स्थित बेलासपुर गाउँ यतिबेला सयपत्री फूलले ढकमक्क बनेको छ। सडक किनारका खाली ठाउँमा रोपिएका सयपत्री फूल फुलेपछि गाउँको सौन्दर्य थपिएको छ। स्थानीयवासीको सामूहिक प्रयासमा सडक किनार फूलबारीमा परिणत भएको हो। यसले गाउँलाई आकर्षक बनाउनुका साथै फूल बिक्रीबाट आम्दानीको अवसरसमेत सिर्जना गरेको छ।

गाउँलाई सफा, सुन्दर र आकर्षक बनाउने उद्देश्यले स्थानीयवासीले सडक किनारमा करिब ३६ सय सयपत्रीका बिरुवा रोपेका थिए। लामो समयको मेहनत, नियमित स्याहार र संरक्षणपछि अहिले फूल बिक्रीका लागि तयार भएका छन्। स्थानीयका अनुसार हाल करिब ४० देखि ५० किलो सयपत्री फूल बिक्री गर्न योग्य भइसकेका छन्।

गाउँका बडघर तथा कृषक राजेश कठायतका अनुसार गाउँलाई फूलैफूलले सजाउने र फूल बिक्रीबाट स्थानीयस्तरमै आम्दानी गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो। फूलखेतीका लागि लागेको कुल खर्चको ५० प्रतिशत स्थानीयवासी र ५० प्रतिशत जानकी गाउँपालिकाले अनुदान उपलब्ध गराएका छन्।

उत्पादित फूल बजार मूल्यअनुसार बिक्री गर्ने तयारी गरिएको छ। ग्राहकको मागअनुसार सयपत्रीका माला बनाएर उपलब्ध गराउनुका साथै अर्डरअनुसार तोकिएको स्थानसम्म फूल पुर्‍याउने योजना पनि स्थानीयको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै फूल खरिद गरेर गाउँको अभियानलाई सहयोग गर्न उनीहरूले सबैमा आग्रह गरेका छन्।

सडक किनारका खाली ठाउँलाई सदुपयोग गर्दै फूलबारी निर्माण गर्ने बेलासपुरवासीको प्रयासले गाउँको वातावरण र सौन्दर्यमा परिवर्तन ल्याएको छ। सामूहिक सहभागिता र स्थानीय सरकारको सहयोगमा अघि बढाइएको यो अभियानले गाउँको सौन्दर्यकरणसँगै स्थानीयस्तरमै रोजगारी र आर्थिक उपार्जनको सम्भावनासमेत देखाएको छ।

कमेन्ट लोड गर्नुस