सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भदौ- १गते‘गुरही असरैना’हुँदै

२०८३ साउन २९, ०५:०७ खबर संवाददाता

धनगढी: थारू समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक एकता संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा ‘गुरही असरैना कार्यक्रम–२०८३’ आयोजना हुने भएको छ।
गुरही चौक, धनगढीमा आयोजना हुने कार्यक्रमको मूल आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै तयारीबारे जानकारी दिएको हो।

आयोजकका अनुसार गुरही पर्व थारू समुदायको महत्वपूर्ण ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक पर्व हो। परम्परागत रूपमा थारू समुदायले विशेष पर्वका रूपमा मनाउँदै आएको गुरही पर्वले समुदायको प्राचीनता र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने जनाइएको छ।

साउन महिनामा नागपञ्चमीका दिन मनाइने गुरही पर्वमा नागदेवताको पूजा गर्ने तथा गुरही प्रतिमासमेत सम्मानपूर्वक प्रदर्शन गर्ने परम्परा रहेको आयोजक समितिले जनाएको छ। कृषिप्रधान थारू समुदायले प्राकृतिक तथा जैविक सन्तुलन कायम गर्न सहयोग गर्ने भएकाले गुरही पर्वलाई किसानको साथीका रूपमा सम्मान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ।

गुरही पर्व बालबालिकाको सक्रिय सहभागितामा मनाइने मौलिक सांस्कृतिक पर्वसमेत हो। बालबालिकाले घरघरबाट गुरही (गडिया) तथा घघररी (भिजाएको चना) जस्ता सामग्री लिएर सहभागिता जनाउने र परम्परागत रूपमा सोंटा लिएर गुरही खेल्ने तथा सामुदायिक रूपमा प्रसाद वितरण गर्ने चलन रहेको आयोजकले जनाएको छ। यस्ता अभ्यासले बालबालिकामा संस्कृति, सामाजिक उत्तरदायित्व, सहकार्य र सामुदायिक एकताको भावना विकास गर्न सहयोग गर्ने विश्वास आयोजकको छ।

कार्यक्रमलाई सांस्कृतिक संरक्षणसँगै सामाजिक सद्भाव, महिला नेतृत्व विकास, बालबालिकाको सहभागिता र समुदायबीचको एकता सुदृढ गर्ने अवसरका रूपमा अघि बढाइएको मूल आयोजक समितिका संयोजक सञ्जु चौधरीले बताए।

कार्यक्रमअन्तर्गत रक्तदान, सरसफाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। गुरही चौक वरिपरि सरसफाइ, औपचारिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा गुरही समापन कार्यक्रम आयोजना गरिनेछ।

‘साथी–साथी मिली सखी सज्जाल’ लगायतका विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना हुने कार्यक्रममा थारू समुदायसँग सम्बन्धित संघसंस्था, कलाकार, साहित्यकार, महिला तथा युवा समूहको सहभागिता रहने आयोजकले जनाएको छ।

मूल आयोजक समितिले गुरही पर्वलाई थारू समुदायमा मात्र सीमित नराखी नेपालको बहुसांस्कृतिक पहिचानको अभिन्न अंगका रूपमा संरक्षण र प्रवर्द्धन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ। कार्यक्रममा स्थानीय समुदाय, विभिन्न संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने बताएको छ ।

कमेन्ट लोड गर्नुस