सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पढाउन छोडेर मन्त्रीको कार्यक्रममा 

२०८३ साउन २९, ०५:३३ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम विश्वविद्यालयका एक जना उपप्राध्यापक क्याम्पसमा पढाउन छोडेर मन्त्रीको भ्रमणमा सामेल भएका छन्।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा कार्यरत उपप्राध्यापक शैलेन्द्र जोशी भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको भ्रमण दलमा सामेल भएको भिडियो सार्वजनिक भएको छ।

मन्त्री लम्साल सुदूरपश्चिमको भ्रमण रहेको मौका छोपेर उपप्राध्यापक जोशी भने पढाउन छोडेर मन्त्रीको टोलीसँगै डोटी हुँदै बैतडी लागेका छन्।

केन्द्रीय क्याम्पसमा होटल व्यवस्थापन संकायको करार उपप्राध्यापक पदमा गत वर्षदेखि कार्यरत जोशी सरकारको निर्देश उल्लंघन गर्दै मन्त्रीको कार्यक्रममा सहभागी भएका हुन्।

सरकारले राष्ट्र सेवक कर्मचारीहरूलाई पार्टी तथा नेताको कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको भए पनि जोशी भने उक्त निर्देशन लत्याएर क्याम्पसका कक्षा नै छोडेर मन्त्रीसँग भ्रमणमा निस्केका हुन्। मन्त्री सुनिल लम्साल पुगेको हरेक ठाउँमा उपप्राध्यापक जोशी पनि पुगेको विभिन्न सञ्चार माध्यमले प्रसारण गरेको भिडियोमा देखिएको छ।

यता, उपप्राध्यापक जोशीले भने संयोगले बाटोमा मन्त्रीको टोलीसँग भेट भएको बताउँछन्। उनले बैतडी जाने क्रममा मन्त्री लम्सालसँग बाटोमा भेट भएको दाबी गरेका छन्। "मेरो भेट बाटोमा भएको हो, घर जाने क्रममा उहाँको टोलीसँग भेट भएको हो, म बिदा स्वीकृत गराएर नै आएको हुँ," उपप्राध्यापक जोशीले भने।

तर, क्याम्पसका होटेल व्यवस्थापन संकायका प्रमुख हितेन्द्र चन्दले भने जोशीले शुक्रबार बिहान कक्षा लिएको बताएका छन्। केही कक्षा लिएर अत्यन्त जरुरी काम छ भनेर जोशी निवेदन लेखेर निस्किएको चन्दले बताए। जोशीको बिदा भने स्वीकृत नगरिएको विभाग प्रमुख चन्दले दिनेशखबरसँग बताए।

यता, सरकारी कर्मचारीले कुनै पनि दलको कार्यक्रम, नेता या मन्त्रीको कार्यक्रममा सहभागी नहुने बताइए पनि व्यवहारमा भने रास्वपाका मन्त्रीको भ्रमणमा पढाउन छोडेर उपप्राध्यापक नै सहभागी भएको विषयलाई असामान्य रुपमा लिइएको छ।

कमेन्ट लोड गर्नुस