धनगढीमा बढ्दै साइकल संस्कृति, स्वास्थ्यदेखि वातावरण संरक्षणसम्म जोडिँदै
कैलाली: कुनै समय छोटो दूरीको यात्रा र दैनिक कामकाजका लागि मात्रै प्रयोग हुने साइकल पछिल्लो समय धनगढीमा स्वास्थ्य, वातावरण संरक्षण र मनोरञ्जनको माध्यमका रूपमा लोकप्रिय बन्दै गएको छ। शहरमा नियमित साइकल चलाउनेहरूको संख्या बढेसँगै धनगढीमा साइकल संस्कृतिको समेत विस्तार हुन थालेको छ।
स्वास्थ्यप्रति सचेत नागरिकहरू साइकलतर्फ आकर्षित हुनुको मुख्य कारण यसबाट हुने शारीरिक तथा मानसिक फाइदा रहेको साइकलप्रेमीहरू बताउँछन्। नियमित साइकल चलाउँदा शारीरिक सक्रियता बढ्नुका साथै मुटुको स्वास्थ्य, मांसपेशीको क्षमता र तौल व्यवस्थापनमा सहयोग पुग्ने भएकाले यसलाई सहज व्यायामका रूपमा समेत लिन थालिएको छ।
साइकल वातावरणमैत्री यातायातको साधन भएकाले यसको प्रयोग बढ्दा पेट्रोल–डिजेलको खपत र सवारीसाधनबाट हुने प्रदूषण कम गर्न सहयोग पुग्ने साइकलप्रेमीहरूको भनाइ छ। बढ्दो सवारी चाप र वायु प्रदूषणका बीच छोटो दूरीका यात्रामा साइकलको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ।
यसै क्रममा फारवेष्ट राइडरले आयोजना गरेको ‘ओल्के हेरिटेज’ कार्यक्रममा साइकलप्रेमीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। विभिन्न उमेर समूहका साइकल चालक सहभागी कार्यक्रममा साइकल यात्रामार्फत स्वास्थ्य, वातावरण संरक्षण तथा स्थानीय संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने सन्देश दिइएको थियो।
फारवेष्ट राइडरका संस्थापक अध्यक्ष भरत विक्रम शाहका अनुसार धनगढीमा पछिल्लो समय नियमित साइकल चलाउनेहरूको संख्या उत्साहजनक रूपमा बढिरहेको छ। साइकललाई यातायातको साधनमा मात्र सीमित नराखी स्वस्थ जीवनशैली, वातावरण संरक्षण र सामाजिक अभियानसँग जोड्नुपर्ने उनको भनाइ छ।
“धनगढीलाई साइकलको शहरका रूपमा चिनाउने हाम्रो प्रयास हो। साइकल चलाउने संस्कृतिको विकाससँगै शहरलाई स्वस्थ, स्वच्छ र वातावरणमैत्री बनाउन सकिन्छ,” शाहले भने।
साइकलको प्रयोगले पेट्रोल–डिजेलमा हुने खर्च घटाउनुका साथै छोटो दूरीको यात्रामा समयको सदुपयोग गर्न र शहरमा सवारीसाधनको चाप कम गर्न सहयोग पुग्ने साइकलप्रेमीहरू बताउँछन्।
धनगढीमा साइकल संस्कृति थप विस्तार गर्न सुरक्षित साइकल लेन, साइकल पार्किङ, साइकलमैत्री सडक तथा नियमित साइकलिङ कार्यक्रम आवश्यक रहेको उनीहरूको सुझाव छ। स्थानीय तह, प्रदेश सरकार र निजी क्षेत्रबीच सहकार्य गरी साइकलमैत्री पूर्वाधार निर्माण गर्न सके धनगढीलाई ‘साइकल सिटी’ का रूपमा विकास गर्न सकिने उनीहरूको विश्वास छ।
स्वास्थ्यका लागि व्यायाम, वातावरणका लागि संरक्षण र शहरका लागि वैकल्पिक यातायातको माध्यमका रूपमा साइकलप्रतिको बढ्दो आकर्षणले धनगढीमा नयाँ किसिमको शहरी संस्कृतिको विकास भइरहेको संकेत गरेको छ।