धनगढीमा एलपी ग्यासका लागी उपभोक्ता लामो लाइनमा
धनगढीः खाना पकाउने एलपी ग्यास समयमै नपाउँदा धनगढीका उपभोक्ता समस्यामा परेका छन्।
गत महिनादेखि देशव्यापी रूपमा ग्यासको आपूर्तिमा देखिएको कमीको असर धनगढीमा समेत परेको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। ग्यास लिनका लागि उपभोक्ता बिहानैदेखि डिलर तथा बिक्री केन्द्रमा लामो लाइन लाग्ने गरेका छन्। विद्यार्थी, युवा, महिला तथा पुरुषसमेत घण्टौँसम्म लाइनमा बसेर ग्यास कुर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ।
कतिपय उपभोक्ताले दिनभर पालो कुरेर पनि ग्यास नपाएको गुनासो गरेका छन्। समयमै ग्यास नपाउँदा दैनिक खाना पकाउनेदेखि अन्य घरेलु कामसमेत प्रभावित भएको उपभोक्ताको भनाइ छ। लामो समय लाइनमा बस्नुपर्ने र कहिले ग्यास पाइने भन्ने निश्चित नहुँदा थप निराशा बढेको उनीहरूले बताएका छन्। यता, ग्यास वितरण केन्द्रहरूले भारतबाट अपेक्षाकृत कम मात्रामा ग्यास आयात भइरहेकाले मागअनुसार आपूर्ति गर्न कठिनाइ भएको बताएका छन्। उपलब्ध ग्यासलाई लाइनमा बसेका उपभोक्तालाई पालोअनुसार वितरण गरिरहेको उनीहरूको दाबी छ।
सामाजिक सञ्जालमा सुदूरपश्चिम बाहेकका अन्य प्रदेशमा ग्यासको अभावसम्बन्धी समाचार तथा सूचनाहरू सार्वजनिक भएपछि धनगढीका उपभोक्तामा पनि ग्यास अभाव झन् बढ्ने हो कि भन्ने चिन्ता बढेको छ। त्यसैकारण कतिपय उपभोक्ता आवश्यकताभन्दा बढी ग्यास भण्डारण गर्न खोज्दा समस्या थपिएको व्यवसायीहरूको भनाइ छ।
उपभोक्ताले भने ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्दै कृत्रिम अभाव र कालोबजारी हुन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्। साथै, लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै सहज रूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन उनीहरूले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।