सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओल्के, गुरही र नागपञ्चमीले सामाजिक एकता र सांस्कृतिक संरक्षणमा योगदान गर्छन् : मन्त्री मल्ल

२०८३ भदौ १, ०५:२० लक्ष्मण ढुङ्गाल

धनगढीः सुदूरपश्चिममा मनाइने ओल्के पर्व, थारु समुदायको गुरही पर्व तथा नागपञ्चमीको अवसरमा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री चक्र मल्लले शुभकामना व्यक्त गरेका छन् ।

सोमबार धनगढी उपमहानगरपालिका–५ स्थित दरबार क्याफेमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मल्लले प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई तीनै पर्वको शुभकामना दिएका हुन् ।

प्रदेशमा एकै समयमा विभिन्न समुदायका महत्वपूर्ण पर्वहरू परेको उल्लेख गर्दै मन्त्री मल्लले यस्ता पर्वले सामाजिक सद्भाव, एकता र धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । विविध जातजाति, भाषा, संस्कृति र परम्पराले भरिएको सुदूरपश्चिमको पहिचानलाई पर्वहरूले थप मजबुत बनाउने उनको भनाइ थियो ।

मन्त्री मल्लले सञ्चारमाध्यमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै नागरिकलाई सचेत र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रदेशको विकास, सामाजिक सद्भाव र सकारात्मक परिवर्तनका लागि सञ्चार क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

आफ्नो कार्यकालमा प्रदेशको समग्र विकास र नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत मन्त्री मल्लले व्यक्त गरे । उनले प्रदेशका समस्या समाधान, विकास निर्माण तथा नागरिकका अपेक्षा पूरा गर्न आफ्नो तर्फबाट निरन्तर प्रयास गर्ने बताए ।

ओल्के पर्व सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको पर्व हो भने गुरही थारु समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ । नागपञ्चमी हिन्दु धर्मावलम्बीहरूले धार्मिक आस्थाका साथ मनाउने पर्व हो । तीनै पर्वले सुदूरपश्चिमको बहुसांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने गरेका छन् ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस