आज यी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो पनि साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेश साथै कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ।
त्यसैगरी आज राति देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।