धनगढी–काठमाडौं रुटमा ‘आसन एक्सप्रेस’का पाँच बस सञ्चालनमा
धनगढी: खप्तड यातायात प्रालिले यात्रुलाई थप आरामदायी र सुविधाजनक सेवा दिने उद्देश्यले नयाँ बस सेवा ‘आसन एक्सप्रेस’ सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रबार धनगढी बसपार्कबाट पाँच वटा नयाँ बस सञ्चालनमा ल्याएको हो ।
नयाँ बसहरू २×१ सिट क्षमताका तथा एसी सुविधासहितका छन् । यी बसले धनगढीदेखि काठमाडौं र काठमाडौंँदेखि धनगढीसम्म नियमित यात्रु सेवा दिनेछन् । लामो दूरीको यात्रालाई सहज, आरामदायी र भरपर्दो बनाउन नयाँ बस सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
‘आसन एक्सप्रेस’ बस सेवाको औपचारिक उद्घाटन धनगढी बसपार्कमा कथावाचक आचार्य सत्यराज अवस्थीले रिबन काट्नुका साथै हरियो झन्डा देखाएर गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अवस्थीले स्वास्थ्य, शिक्षा लगायतका आधारभूत आवश्यकताजस्तै यातायात सेवा पनि अपरिहार्य रहेको बताए । गुणस्तरीय यातायात सेवा र दक्ष चालकबिना नागरिकका अन्य आवश्यकता सहज रूपमा पूरा हुन नसक्ने उनको भनाइ थियो ।
कार्यक्रमका सभापति तथा खप्तड यातायात प्रालिका अध्यक्ष अनन्तराज जोशीले ‘आसन एक्सप्रेस’मार्फत यात्रुले अपेक्षित र सहज सेवा पाउने दाबी गरे । अन्य सवारीसाधनको तुलनामा नयाँ बसले यात्रुलाई थप सुविधा र आराम प्रदान गर्ने उनले बताए ।
एसी, २×१ सिट तथा आरामदायी सिट संरचनासहितका नयाँ बस सञ्चालनमा आएसँगै सुदूरपश्चिमबाट काठमाडौं जाने तथा काठमाडौंँबाट धनगढी आउने यात्रुलाई थप सहज हुने देखिएको छ ।
उद्घाटन कार्यक्रममा विभिन्न यातायात प्रालिका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, मजदुर संगठन, सेवाग्राही तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
खप्तड यातायात प्रालिले यसअघि पनि धनगढीबाट काठमाडौंलगायत विभिन्न गन्तव्यमा यात्रु सेवा दिँदै आएको छ । नयाँ ‘आसन एक्सप्रेस’ सेवाले लामो दूरीको यात्रामा यात्रुको सुविधा र सहजता थप गर्ने विश्वास गरिएको छ ।