धनगढीमा विद्युतमा लगाइएको भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
धनगढी: उज्यालो नेपाल पार्टीले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै बृहत् हस्ताक्षर अभियान सुरु गरेको छ। पार्टीले काठमाडौंको माइतीघर मण्डलबाट अभियान सुरु गरेको हो।अभियानलाई तिब्रता दिंदै देशका विभिन्न शहरसंगै धनगढीमा पनि अभियान चलेको हो ।
सरकारले विद्युतमा लगाएको कर हटाउन तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल असुल गर्न सरकारमाथि जनदबाब सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीले जनाएको छ।
उज्यालो नेपालले स्वदेशी विद्युत्को खपत बढाउनुपर्ने, इन्डक्सन चुलोको प्रयोग तथा वितरणलाई प्रोत्साहन गर्नुपर्ने र महँगी नियन्त्रण गर्न सरकारलाई दबाब दिने जनाएको छ। पार्टीले विद्युतीय सवारीसाधन तथा अन्य विद्युतीय
उपकरणको प्रयोग बढाएर ग्यास तथा आयातित इन्धनमाथिको निर्भरता घटाउनुपर्नेमा पनि जोड दिएको छ।
पार्टी अध्यक्ष कुलमान घिसिङले विद्युत् उत्पादन बढिरहेको अवस्थामा स्वदेशमै खपत बढाउने नीति लिनुपर्ने बताउँदै विद्युतमा कर लगाएर उपभोक्तामाथि थप भार थोपर्न नहुने धारणा राखेका छन्।
उज्यालो नेपालले हस्ताक्षर अभियानमा सर्वसाधारण, उद्योगी–व्यवसायी, युवा तथा आमनागरिकलाई सहभागी हुन आह्वान गरेको छ। संकलित हस्ताक्षरमार्फत सरकारलाई विद्युत् कर खारेजी र बक्यौता महसुल असुलीका लागि दबाब दिने पार्टीको तयारी छ।