धनगढीमा शिक्षा र संस्कृतिको संगम : शैक्षिक तथा सांस्कृतिक मेला हुँदै
धनगढी — पश्चिम नेपालका विद्यार्थीलाई स्वदेश तथा विदेशमा उपलब्ध उच्च शिक्षा, छात्रवृत्ति, रोजगारी तथा करियर निर्माणका सम्भावनासँग प्रत्यक्ष जोड्ने उद्देश्यले धनगढीमा ‘वेस्टर्न नेपाल एजुकेसन समिट–२०२६’ आयोजना हुने भएको छ।
अखबार मिडिया प्रालि र ड्रिमलिङ्क एजुकेसन कन्सल्टेन्सीको संयुक्त आयोजनामा आगामी अगस्ट २५ (भदौ ९ गते) धनगढीस्थित सिद्धार्थ कटेजमा सम्मेलन हुन लागेको हो । कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ।
समिटमा नेपालका विभिन्न शैक्षिक संस्था, कलेज, शैक्षिक परामर्शदाता तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ। कार्यक्रममा विद्यार्थी तथा अभिभावकले उच्च शिक्षा, विदेश अध्ययन, छात्रवृत्ति, करियर योजना र अन्तर्राष्ट्रिय शैक्षिक अवसरबारे सम्बन्धित प्रतिनिधिसँग प्रत्यक्ष संवाद तथा परामर्श लिन सक्नेछन्।
विशेषगरी बेलायतका बीपीपी युनिभर्सिटी, युनिभर्सिटी अफ द वेस्ट अफ स्कटल्यान्ड (यूडब्लुएस), रोहेम्टन, युडब्लुएल, अल्स्टर र सन्डरल्यान्ड विश्वविद्यालय लगायतसँग सम्बन्धित प्रतिनिधि तथा साझेदारको सहभागिता रहने बताइएको छ।
उक्त अवसरमा बेलायतमा उपलब्ध शैक्षिक कार्यक्रम, विषय छनोट, भर्ना प्रक्रिया, छात्रवृत्तिका अवसर, अध्ययन तथा आवास खर्च र पढाइपछि विकसित हुने रोजगारी तथा करियरका सम्भावनाबारे विद्यार्थीलाई जानकारी दिइनेछ।
ड्रिमलिङ्क एजुकेसन धनगढीका रिजनल डाइरेक्टर समीरजंग कुँवरका अनुसार बीपीपी युनिभर्सिटीका प्रतिनिधि शिव केसी, सादिया ओमार र पालक चौधरी तथा यूडब्लुएस लन्डनका प्रतिनिधि संगम पौडेल लगायतले कार्यक्रममा विद्यार्थीलाई आवश्यक शैक्षिक जानकारी र करियर काउन्सिलिङ प्रदान गर्नेछन्।
कुँवरका अनुसार सम्मेलनमा विद्यार्थी र अभिभावकले आफूले अध्ययन गर्न चाहेको विषय, विश्वविद्यालय छनोट, शैक्षिक शुल्क, बसोबासको अनुमानित लागत, छात्रवृत्ति तथा बेलायतमा अध्ययन पूरा गरेपछि उपलब्ध हुन सक्ने करियरका बाटाबारे विज्ञ तथा प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्न पाउनेछन्।
काठमाडौंको पुतलीसडकमा मुख्य कार्यालय रहेको ड्रिमलिङ्क एजुकेसनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पहिलो शाखा धनगढीको रातोपुलमा सञ्चालन गरिरहेको छ। रिजनल डाइरेक्टर कुँवरले उच्च शिक्षा र करियरसम्बन्धी निर्णय लिनुअघि विद्यार्थीले आवश्यक सूचना र विज्ञ परामर्श लिएर आफ्नो रुचि, क्षमता तथा भविष्यको योजनाअनुसार गन्तव्य छनोट गर्नुपर्नेमा जोड दिए।
*शिक्षासँगै नेपाली कला र संस्कृतिको प्रस्तुति*
शैक्षिक गतिविधिमा मात्र सीमित नरही सम्मेलनमा नेपाली कला, संस्कृति र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्यले विशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएको छ।
शिक्षा, करियर र संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अवधारणासहित आयोजना हुन लागेको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, कलेज प्रतिनिधि, शैक्षिक परामर्शदाता तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको सहभागिता रहने अपेक्षा गरिएको छ।
आयोजकले समिटलाई पश्चिम नेपालका विद्यार्थी तथा शैक्षिक संस्थालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शिक्षा क्षेत्रका साझेदारसँग नजिक ल्याउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
सम्मेलनमार्फत विद्यार्थीले आफ्नो उच्च शिक्षाका लागि उपलब्ध नयाँ विकल्पबारे जानकारी पाउनुका साथै विदेश अध्ययनसँग सम्बन्धित विषयमा प्रत्यक्ष रूपमा विज्ञ तथा विश्वविद्यालय प्रतिनिधिसँग संवाद गर्न पाउने आयोजकको विश्वास छ। यसले विद्यार्थीलाई अध्ययनको गन्तव्य छनोटदेखि भविष्यको करियर योजनासम्म थप स्पष्ट निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ।