सुदूर नेपाललाई विश्वसँग जोड्दै

माग सम्बोधन गर्न वनरक्षक कर्मचारीको मुख्यमन्त्री कार्यालयअगाडि धर्ना

२०८३ भदौ ११, ०९:४९ लक्ष्मण ढुङ्गाल

धनगढीः सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका वनरक्षक कर्मचारीले आफ्ना विभिन्न माग सम्बोधन गर्न दबाबस्वरूप शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन्।

आन्दोलनअन्तर्गत उनीहरूले बुधबार प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्ना दिएका हुन्। अन्य प्रदेशमा वनरक्षक कर्मचारीको तह वृद्धि तथा वृत्तिविकासका व्यवस्था लागू भए पनि सुदूरपश्चिममा त्यसको कार्यान्वयन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको कर्मचारीहरूले बताएका छन्।

वनरक्षक कर्मचारीहरूले वन, वन्यजन्तु तथा प्राकृतिक स्रोतको संरक्षणमा जोखिमपूर्ण अवस्थामा खटिएर काम गर्दै आए पनि सेवा–सुविधा, तह वृद्धि, वृत्तिविकास र अध्ययनका अवसरमा आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन्। उनीहरूले वन पैदावारको चोरी–निकासी नियन्त्रण, वन अतिक्रमण रोकथाम, वन्यजन्तु संरक्षण तथा वन अपराध नियन्त्रणमा वनरक्षकको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

उनीहरूले सहायक तेस्रो तह कायम गरी सोही तहअनुसार सेवा–सुविधा उपलब्ध गराउनुपर्ने, प्राविधिक तथा अप्राविधिक दुवै तर्फ तीन वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीका लागि आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। त्यस्तै, पाँच वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई स्वतः चौथो तहमा तह वृद्धि गर्नुपर्ने माग पनि उनीहरूको छ।

अन्य निजामती कर्मचारीले पाउने अध्ययन बिदासरह वनरक्षक कर्मचारीलाई पनि अध्ययन बिदा उपलब्ध गराउनुपर्ने तथा प्रत्येक सब–डिभिजन वन कार्यालयमा कम्तीमा एक जना फरेस्टर पदको दरबन्दी कायम गर्नुपर्ने उनीहरूको माग छ। यसअघि पनि वनरक्षक कर्मचारीहरूले प्रदेश सरकारसमक्ष आफ्ना विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएका थिए। तर माग सम्बोधनका लागि सरकारले आवश्यक पहल नगरेपछि दबाबस्वरूप शान्तिपूर्ण आन्दोलन सुरु गर्नुपरेको उनीहरूको भनाइ छ।

वनरक्षक कर्मचारीहरूले आफूहरूको एकता, सम्मान र अधिकारका लागि संघर्ष जारी रहने जनाउँदै प्रदेश सरकारलाई मागप्रति गम्भीर बन्न आग्रह गरेका छन्। उनीहरूले सेवा–सुविधा तथा वृत्तिविकाससँग सम्बन्धित समस्या तत्काल समाधान गर्न प्रदेश सरकारसँग माग गरेका छन्।कर्मचारीहरुले केहिदिनदेखी माग सम्बोधन गर्न भन्दै दबाब दिइरहेका छन् ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस