सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैतन्य पाठशालाद्वारा बझाङको गर्जेपानी माविलाई सहयोग हस्तान्तरण 

२०८३ भदौ ११, ०३:०८ लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढीस्थित चैतन्य पाठशालाले बझाङको केदारस्युँ गाउँपालिका–१ रायलस्थित गर्जेपानी माध्यमिक विद्यालयका विद्यार्थीका लागि २०५ थान ट्र्याकसुट सहयोग गरेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयले बिहीबार गर्जेपानी माविलाई उक्त ट्र्याकसुट हस्तान्तरण गरेको हो। चैतन्य पाठशालाले विद्यालयका प्रधानाध्यापक डम्बर मल्ललाई ट्र्याकसुट हस्तान्तरण गरेको  छ।

सहयोग ग्रहण गर्दै प्रधानाध्यापक मल्लले दुर्गम क्षेत्रको विद्यालय र विद्यार्थीलाई सहयोग गरेकोमा चैतन्य पाठशालाप्रति आभार व्यक्त गरे। उनले यस्ता सहयोगले विद्यार्थीको मनोबल बढाउनुका साथै विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा समेत सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा चैतन्य पाठशालाका बोर्ड डाइरेक्टर कटकबहादुर सिंहले दुर्गम तथा पहुँचबाट टाढा रहेका विद्यालयलाई सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको बताए। आगामी दिनमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो।

“विद्यालय र विद्यार्थीलाई केही सहयोग होस् भन्ने उद्देश्यले मानवीय धर्म निर्वाह गर्दै सहयोग गरेका हौँ,” सिंहले भने, “सुदूरपश्चिमका विकट तथा पहुँच नपुगेका क्षेत्रमा आफ्नो क्षमताअनुसार सहयोग पुर्‍याउने हाम्रो प्रयास निरन्तर रहन्छ।”

चैतन्य पाठशालाले यसअघि पनि सुदूरपश्चिमका विभिन्न विकट तथा आवश्यकतामा रहेका क्षेत्रमा राहत तथा सामाजिक सहयोग गर्दै आएको जनाएको छ। विद्यालयले विपद् तथा कठिन परिस्थितिमा आम नागरिकले पनि आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोगको हात बढाउनुपर्नेमा जोड दिएको छ।

कार्यक्रममा चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी, प्रधानाध्यापक प्रेमनिधि ओझा, पीटीए अध्यक्ष ईश्वर गिरी, बोर्ड डाइरेक्टर कटकबहादुर सिंहलगायत शिक्षक,तथा अभिभावकको उपस्थिति रहेको थियो।

विद्यालयका प्रतिनिधिहरूले सानो सहयोगले पनि आवश्यकतामा रहेका विद्यार्थी र विद्यालयका लागि ठूलो अर्थ राख्ने भएकाले सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।बिगतका दिनमा समेत चैतन्य विभिन्न माध्यमका क्षेत्र र व्यक्तिलाई सहयोग गर्दै आइरहेको छ ।

लक्ष्मण ढुङ्गाल, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस