बाढीले बगाएर ल्याएको लासबाट सुनको गहना निकाल्ने दुई जना पक्राउ
रसुवाः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर त्रिशूली–नारायणी नदी किनारमा ल्याएको शवबाट कानको सुनको मुन्द्रा लुछेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मानवताको संवेदनशीलता नै गुमाएको उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरूको पहिचान गरी नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार बुधबार दिउँसो दुई जनालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ पर्नेमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकमा मामाघर बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
एसपी पौडेलका अनुसार बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाइएको सुनको मुन्द्रा निकालिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले तत्काल भिडियोको सत्यता जाँच गर्न थालेको थियो । भिडियोमा देखिएका व्यक्तिहरूको पहिचान खुलाएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
’सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोको आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको हो। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ एसपी पौडेलले भने ।
प्रहरीका अनुसार शवको सम्मान र प्रमाण संरक्षणसँग जोडिएको विषय भएकाले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका दुवै जनामाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा शव फेला पर्ने क्रम जारी छ । खोज तथा उद्धार अभियानसँगै शवको सनाखत र व्यवस्थापनको काम भइरहेको बेला शवबाट सुनको गहना लुछ्ने घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।