सुदूरपश्चिममा बजेट शून्यता कायमै, पुनर्लेखनको काम अझै सुरु भएन
धनगढीः सुदूरपश्चिम प्रदेशको नवगठित सरकारले बजेट शून्यताको अवस्थालाई अन्त्य गर्ने आफूहरूको पहिलो प्राथमिकता रहेको बताए पनि बजेट पुनर्लेखनको सुरसार भने अझै गरेको छैन ।
बजेट असफलताको जगमा गठन भएको सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटबाट राम्रा कार्यक्रम समावेश गर्दै पुनर्लेखन गरेर नयाँ बजेट ल्याउने बताउँदै आएको छ । यद्यपि बजेट पुनर्लेखनको काम भने अझै सुरु नभएको आर्थिक मामिला मन्त्रालयका सूचना अधिकारी उपसचिव सत्यराज जोशीले बताए। उनले भने, “बजेट पुनर्लेखनको सवालमा अहिलेसम्म केही पनि भएको छैन । जे थियो, त्यही छ ।”
नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट पास नभएपछि प्रदेश बजेटविहीन छ । बजेटविहीनताको अवस्था अन्त्यका लागि पुनर्लेखन गरेर फास्ट ट्र्याकबाट बजेट ल्याउने सरकारले उद्घोष गरेको छ । बजेट नहुँदा विकासका गतिविधि डेढ महिनादेखि ठप्प छन् ।