धनगढीको फेन्सी पसलबाट झण्डै १५ हजारको कपडा लगेर दुई जना फरार, पैसा तिरेनन्
धनगढी: धनगढीको क्याम्पस चोकस्थित सेती साइपाल फेन्सी पसलबाट झण्डै १५ हजारको कपडा लगेर पैसा नतिरी दुई जना फरार भएका छन्।
पसलका सञ्चालक पारसकुमार मण्डेलका अनुसार दुई जना व्यक्ति पसलमा आएर १४ हजार ६०० रुपैयाँभन्दा बढी मूल्यका कपडा लगेर गएका हुन्।
कपडा खरिद गरेपछि एक जना मोटरसाइकल ल्याउने भन्दै सडकतर्फ गएका थिए। अर्का व्यक्तिले पैसा तिर्ने भन्दै पसल संचालकसँग क्यूआर कोड मागेका थिए। तर, पैसा नतिरी दुवै जना फरार भएको मण्डेलले बताए। सार्वजनिक भिडियोअनुसार हातमा सामान भिरेर दुबै जना भागेको देखिन्छ।
मण्डेलले २४ घण्टाभित्र सम्पर्कमा आउन ती व्यक्तिलाई आग्रह गरेका छन्। उक्त अवधिमा सम्पर्कमा नआए सीसीटीभी फुटेजका आधारमा दुवै जनाको तस्बिर सार्वजनिक गर्नुका साथै प्रहरीमा उजुरी दिने उनले बताएका छन्।