सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुस्किलले बाँचेका मजदुरकाे आँखामा अपर त्रिशूली–१ काे सुरुङभित्र 'त्याे कहालीलाग्दाे त्रासदी'

२०८३ भदौ १९, ०१:५२ खबर संवाददाता

धनगढी: कैलालीको भजनी नगरपालिका–१, गौनहियाका आकाश चौधरी र उनका लक्ष्मण रसुवा पुगेको दुई महिना मात्रै बितेको थियो ।

पावर चाइना कम्पनीले निर्माण गरिरहेकाे अपर त्रिशूली–१ जलविद्युत् आयोजनाकाे सुरुङभित्र उनिहरुको काम थियो । त्यही सुरुङमा गाउँका अन्य तीन जना पनि कार्यरत थिए । रोजीरोटीका लागि सुरुङभित्र काम गर्न गएका उनिहरूको काम आफैँमा जोखिमपूर्ण थियो । पहाड फुटाएर खनिएको सुरुङभित्र पानी चुहिने गरेकाले दल दल थियो । भदौ १० गते आकाशसहित अन्य चार काम गर्न बिहान ७ बजे नै सुरुङभित्र पसेका थिए। 

उनि त्यो कालो क्षण सम्झँदै भन्छन्, “दल दलमा गमबुट लगाएर सरिया बाँध्ने काम गरिरहेका थियौँ । सुरुङभित्र पाँच किलोमिटरको दुरीमा काम गरिरहेको एक घण्टा नबित्दै भित्रै बेस्सरी हावा चल्यो । तुफान जस्तो । १० देखि १५ मिनेटसम्म सुरुङभित्र यस्तो हावा चल्यो मानौँ त्यो कुनै तुफान हो मान्छे उडाउने ।

हावा चल्न रोकिएलगत्तै बाहिरतिर मान्छे बेस्सरी चिच्याएको आवाज सुनियो । हामी गमबुट फुकालेर सुरुङभित्रबाट अन्धाधुन्ध मुखतिर दगुर्‍यौँ । सुरुङबाट निस्केर मुहानमाथि चढेको निमेषमै जीवनमै कहिल्यै नदेखिएको खतरनाक कालो मुस्लो आइपुग्यो । मान्छेहरू बचाऊ बचाऊ भन्दै चिच्याउँदै थिए । हेर्दाहेर्दै आँखैअगाडि धेरै मान्छे बगे । बस, जेसिबी सबै बाढीसँगै बगे ।”

बेलैमा सुरुङभित्रबाट भाग्न सफल भएपछि भोटेकोशी नदीको विध्वंसात्मक बाढीबाट जोगिएर आकाशसहित गौनहियाका पाँच जना घर फर्किसकेका छन् । आकाशका अनुसार उनिसँगै काम गरिरहेका बर्दियाका एक जना भाग्न सकेनन् । बाढी घटेको करिब १० घण्टापछि उनि सुरुङको दल दलमा घस्रिँदै बाँचेर आए। उनकाे शरीरमा एउटा कपडा थिएन । शरीरभरि चोटैचोट थियो । उनलाई पनि आकाशलगायतका साथीले बोकेर माथितिर पुर्‍याए।  

आकाशका अनुसार जताततै बचाऊ बचाऊ चिच्याएको मात्रै सुनिन्थ्यो । धेरै मान्छे आँखैअगाडिबाट बगेको स्मरण गर्दै उनि भन्छन्, “मुस्किलले आफू जोगियौँ । अरूलाई बचाउन सकिएन । मैले समुद्रमा माछा मार्ने काम पनि गरेको छु तर यस्तो डरलाग्दो बाढी कहिल्यै देखिएको थिएन ।”

आकाशसँगै गौनहियाका रामस्वरूप, सन्तोष, प्रेम चौधरी भागेर ज्यान जोगाउन सफल भएका हुन्। आफू जोगिएपछि आकाशलाई बुवा लक्ष्मणको अवस्था के भएको होला भन्ने चिन्ताले पिरोलेको थियो । उनको बुवाको ड्युटी थिएन । नाइट सिफ्टमा ड्युटी भएकाले लक्ष्मण बिहानै कम्पनीमा गमबुट लिन गएका रहेछन्। लक्ष्मणले भने, “तेस्रो सुरुङमा हाम्रो दुई सिफ्टमा काम हुन्थ्यो । मेरो नाइट ड्युटी भएकाले केटाका लागि नयाँ गमबुट लिन कम्पनीको कार्यालयमा गएको थिएँ । त्यहाँबाट फर्केर पुलमा हिँडिरहेको बेला यस्तो बाढी देखियो कि जीवनमा कहिल्यै कल्पनै नगरिएको ।” 

पुलबाट भागेर करिब ५० मिटरमाथि पहाड चढ्नेबित्तिकै बाढीले पुल बगाएको चौधरीले सुनाए । उनि भन्छन्, “जुन कम्पनीमा पसेर निस्केको थिएँ, एकछिनमै मान्छेसहित कम्पनीको सबै घर बग्यो । त्यसपछि मलाई यस्तो डर महसुस भयो कि केही सोच्नै सकिन ।” 

केही समय सुस्ताएपछि रुँदै छोरा खोज्न थालेको चौधरी सुनाउछन्। उता आकाश पनि रुँदै बुवा खोज्न थालेका थिए। बाढीले क्षणभरमै ध्वस्त पारेको ठाउँबाट निस्केर अलग अलग डाँडामा ओत लागेका बावुछोराको त्यो दिन भेटै हुन सकेन । चौधरी भन्छन्, “उता छोराले बुवालाई बगायो कि भनेर रुँदै थियो, यता म छोरालाई बगायो कि भनेर रुँदै थिएँ । लत्ताकपडा, रुपियाँ पैसा, मोबाइल सबै बग्यो । दोस्रो दिन छोरासहित गाउँका सबैलाई सुरक्षित भेटेपछि यस्तो खुसी लाग्यौ कि म वर्णन गर्न सक्दिनँ ।”

विध्वंसात्मक बाढीबाट बाँचेका उनिहरुले विपत्का बिच अन्धकारमा कठिन रात गुजारेको सम्झिए । बिहान सरकारले हेलिकोप्टरमार्फत पाँचै जनाको उद्धार गरेको थियो । रसुवाबाट काठमाडौँ हुँदै उनीहरू भदौ १६ गते घर फर्किएका हुन्। आफूहरू घर फर्के पनि त्यही कम्पनीको सुरुङभित्र अझै १० देखि १५ किलोमिटरभित्र काम गरिरहेका कैलालीकै टीकापुर र बर्दियाका कामदारलाई सम्झेर मन अमिलो भइरहेको आकाशले बताए। उनले भने, “पाँच किलोमिटरभित्र रहेका हामी मुस्किलले जोगियौँ । उनीहरू अझै भित्र थिए । के भयो होला, केही अत्तोपत्तो छैन ।”

गौनहियाकै स्वरूप चौधरीको भनाइमा भोटेकोशीमा आएको त्यो बाढी, बाढीभन्दा पनि काल थियो । घर फर्केपछि भक्कानिँदै उनले भने, “स्थानीयले ठुलो बाढी आउँदैन भनेकाले ढुक्क थियौँ तर यस्तो काल बनेर आयो कि म त्यसको वर्णन गर्न सक्दिनँ ।”

भाग्यले बाँचेका यी मजदुरले दोस्रो दिन परिवारलाई सम्पर्क गरेर आफूहरू सकुशल रहेको जानकारी दिएका थिए । मृत्यु छलेर फर्केपछि घर पुगेका लक्ष्मणले भने, “अब यस्तो ठाउँमा काम गर्न कहिल्यैँ जाँदैनौँ ।”   

कमेन्ट लोड गर्नुस