सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको खोड्पेमा हेलिप्याड सहित मानवीय उद्धार सहायता स्थल तयार

२०८३ भदौ २०, ०३:५९ खबर संवाददाता

बैतडीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने आकस्मिक विपद्लाई ध्यानमा राखेर बैतडीको खोड्पेमा प्रदेशस्तरीय मानवीय उद्धार सहायता स्थल सञ्चालनमा आएको छ।

बैतडी, बझाङ र दार्चुला गरी तीन जिल्ला जोड्ने रणनीतिक स्थानका रूपमा रहेको खोड्पेमा हेलिप्याडसमेत व्यवस्था गरिएको छ।

विपद्का समयमा तत्काल खोज, उद्धार तथा राहत सामग्रीको भण्डारण र परिचालन गर्ने उद्देश्यले गृह मन्त्रालय र स्थानीय तहको समन्वयमा दुई वर्षदेखि सहायता स्थल सञ्चालनमा रहेको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्। 

सुदूरपश्चिमका पहाडी जिल्लामा बाढी, पहिरो वा अन्य प्राकृतिक प्रकोप हुनासाथ यस केन्द्रबाट सामग्री र जनशक्ति परिचालन गरी नागरिकलाई तत्काल राहत तथा उद्धार सहायता पुर्‍याउन सहज हुने उनले जानकारी दिइन्। 

उद्धार तथा खोजका लागि सहायता स्थलमा आवश्यक सामग्री भए पनि राहत वितरणका लागि भने तत्काल कुनै सामग्री नभएको उनकाे भनाइ छ। पीडितलाई लुगाकपडाजस्ता अत्यावश्यक सामग्री प्रदान गर्न स्थानीय तहसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।

सहायता स्थलको चाबी सुरक्षा निकायसँग रहने गरी खोज तथा उद्धारका लागि अत्यावश्यक सामग्री भण्डारण गरिएको पाटन नगरपालिका–८ का वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए। उनले जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय तहसमेत तीनवटै निकायको संयुक्त पहलमा सहायता स्थल सञ्चालनमा रहेको बताए। -गाेरखापत्रबाट

कमेन्ट लोड गर्नुस