सुदूर नेपाललाई विश्वसँग जोड्दै

खरानीबाट उठेर सेवा प्रवाह र कार्य सञ्चालन

२०८३ भदौ २३, ०५:१३ खबर संवाददाता

धनगढी: गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगजनीको मारमा परेका कैलालीका सबै सरकारी कार्यालय पूर्ववत् अवस्थामा फर्किसकेका छन्। मर्मतसम्भार तथा पुनर्निर्माणपछि सरकारी कार्यालयले पूर्ववत् रूपमा नै सेवा प्रवाह थालेका हुन्। यद्यपि भौतिक रूपमा भने धेरैजसो सरकारी कार्यालयको पुनर्निर्माण अझै बाँकी छ। 

आन्दोलनका क्रममा कैलालीमा १३७ वटा भवनमा आगजनी र तोडफोड गरिएको थियो। यसमध्ये सरकारी कार्यालयका भवन १०३, राजनीतिक दलका पार्टी कार्यालय भवन १७, सर्वसाधारणका निजी भवन १२ र प्रहरी कार्यालयका पाँच वटा रहेका थिए।

आगजनी र तोडफोड भएका ११ वटा सरकारी भवन प्रयोग गर्न नमिल्ने ठहरसहित रातो स्टिकर टाँस गरिएको थियो। कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले मर्मतसम्भार र केही कार्यालयले पुनर्निर्माणपछि सबै सरकारी कार्यालयले पूर्ण रूपमा सेवा दिइरहेको बताए। उनले भने, “संरचनाकै अभावमा अहिले कुनै पनि कार्यालयको सेवा प्रभावित छैन।”

दुई सय कैदीबन्दी अझै फरार

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कैलाली कारागारबाट भागेका १९ भारतीय नागरिकसहित २०२ कैदीबन्दी अझै फरार छन्। जिल्ला प्रशासन कार्यालयले भागेका कैदीबन्दीलाई फर्कनका लागि आग्रह गर्दै आएको छ।

आन्दोलनकारीले कारागारमा तोडफोड गर्नुका साथै क्षति पुर्‍याएपछि कारागारमा रहेका ६६७ कैदीबन्दीमध्ये ६६५ जना भागेका थिए। बिरामी भई अस्पताल भर्ना भएका एक र कारागार नछोडेका अर्का एक गरी दुई जना कैदीबन्दी मात्रै बाँकी रहेका थिए। फरार भएकामध्ये हालसम्म ४६३ कैदीबन्दी कारागार फर्किसकेको निमित्त जेलर वसन्त जोशीले जानकारी दिए। फर्केकामध्ये कतिपय कैदीबन्दी बाँकी कैद भुक्तान गरेर पनि छुटिसकेको उनले बताए।

आन्दोलनकारीले तोडफोड गरेको कारागार प्रशासन कार्यालय मर्मत गरिएको छ। यसै गरी कारागारको बाहिरतर्फ सुरक्षाका लागि ठूलो पर्खाल निर्माण गरिएको छ। त्यस्तै कैदी राख्ने नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया पनि अगाडि बढेको जोशीले जानकारी दिए।

बेलौरी समाचारदाताका अनुसार जेनजी आन्दोलनका क्रममा कञ्चनपुरका १२ नेताको घर, २५ सरकारी कार्यालय भवन, पाँच पार्टी कार्यालय, चार व्यापारिक केन्द्र तथा ११ सरकारी कार्यालयका एक दर्जनभन्दा बढी सवारीसाधनमा आगजनी र तोडफोड भएको थियो। यसका साथै आन्दोलनकारीले कञ्चनपुर कारागारमा रहेका साढे तीन सय कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेका थिए।

भागेका कैदीबन्दीमध्ये अझै ८५ जना फरार रहेको कञ्चनपुर कारागारले जनाएको छ। कारागार प्रशासनका निमित्त प्रमुख रामदत्त जोशीका अनुसार सामान्य कैद भुक्तान गर्न बाँकी बन्दी कारागार फर्किए पनि जघन्य अपराध कर्म गरेर कैदबाट फरार भएका भने सम्पर्कमा आएका छैनन्। तीमध्ये १७ जना छिमेकी भारतीय नागरिक रहेका छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रदर्शनकारीले शुक्लाफाँटा नगरपालिका कार्यालयसहित १२ वटै वडामा तोडफोड र आगजनी गरेका थिए। शुक्लाफाँटा नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराले आगजनी र तोडफोड गरिएको सबै संरचनाको मर्मत पूरा नभएको बताए।

आगजनी तथा तोडफोडपछि सरसफाइ र मर्मतसम्भारमा मात्रै नगरपालिकाले ६६ लाख रुपियाँ खर्च भएको जनाएको छ। नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले नगरपालिकाको मुख्य भवन पुनर्निर्माणमा ४० लाख रुपियाँ र वडा कार्यालयहरूमा १६ लाख गरी ६६ लाख रुपियाँ खर्च भएको बताए।

भीमदत्त नगरपालिका–६, ऐठपुरस्थित सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा पनि आन्दोलनकारीले आगजनी तथा तोडफोड गरेका थिए। आगजनी तथा तोडफोडपछि घरको मर्मतको काम सकिएको पूर्वमुख्यमन्त्री रावलका छोरा नितेश रावलले बताए। उनले भने, “हालसम्म ३० लाख रुपियाँ मर्मत र पुनर्निर्माणमा खर्च भएको छ।”

उठ्न सकेन व्यवसाय

जेनजी आन्दोलनका नाममा व्यापारिक प्रतिष्ठानमा समेत आगजनी तथा तोडफोड गरिएपछि हालसम्म व्यवसाय माथि उठ्न नसकेको व्यवसायी बताउँछन्। आन्दोलनकारीले होटेल ओपेरा, सिएमजी क्यासिनो, डायमन्ड क्यासिनोमा तोडफोड र लुटपाट गरेका थिए।

प्रहरीले जेनजी आन्दोलनका नाममा निजी निवास, सरकारी कार्यालय तथा सवारीसाधन तोडफोड, आगजनी र लुटपाट गर्ने २१ जनालाई नियन्त्रणमा लिएर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए। प्रहरीले फरार ८५ जना कैदीबन्दीको खोजी गरिरहेको जनाएको छ।

आन्तरिक स्रोतबाट पालिका भवन पुनर्निर्माण

घोडाघोडी समाचारदाताका अनुसार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त कैलालीका स्थानीय तहका कार्यालय तथा संरचनाको पुनर्निर्माण आन्तरिक स्रोतबाट गर्न थालिएको छ। कैलालीमा सबैभन्दा बढी क्षति गोदावरी, गौरीगङ्गा र घोडाघोडी नगरपालिकामा भएको थियो। आन्दोलनका क्रममा यी पालिकाका कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। क्षतिग्रस्त संरचनाको तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले स्थलगत अनुगमन गर्दै पुनर्निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएका थिए। तर प्रदेश सरकारबाट पुनर्निर्माणका लागि बजेट प्राप्त नभएपछि पालिकाहरूले आफ्नै स्रोतबाट पुनर्निर्माणको काम अघि बढाएका छन्।

घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले नगरपालिका भवन, सभा हल र १२ वटै वडा कार्यालयमा भएको क्षतिको प्राविधिकबाट मूल्याङ्कन गराउँदा करिब नौ करोड रुपियाँ बराबरको क्षति भएको जानकारी दिए।

नगरप्रमुख रावतका अनुसार नगरपालिका कार्यालयतर्फ जिन्सी सम्पत्तिमा तीन करोड ५० लाख रुपियाँ र पूर्वाधारतर्फ ७० लाख रुपियाँ बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ। त्यसै गरेर १२ वटा वडा कार्यालयमा जिन्सीतर्फ दुई करोड २९ लाख रुपियाँ र पूर्वाधारतर्फ दुई करोड रुपियाँ बराबरको क्षति भएको आकलन गरिएको थियो। उनले क्षतिको विवरण सङ्घीय तथा प्रदेश सरकारलाई जानकारी गराए पनि पुनर्निर्माणका लागि बजेट प्राप्त नभएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट पुनर्निर्माण गरी सेवा सञ्चालनमा ल्याएको बताए।

उनले भने, “भौतिक संरचनाको पुनर्निर्माण आन्तरिक स्रोतबाट गरेका छौँ। कार्यालयका सामग्री विभिन्न दातृ निकायबाट सहयोगस्वरूप प्राप्त भएको छ। केही सामग्री नगरपालिकाले पनि खरिद गरेको छ। अहिले पूर्ण रूपमा सबै सेवा सञ्चालन भइरहेका छन्।” त्यस्तै कैलालीको गोदावरी नगरपालिकामा करिब नौ करोड रुपियाँ बराबरको क्षति भएको पालिकाले जनाएको छ। त्यस्तै गौरीगङ्गा नगरपालिकामा करिब सात करोड रुपियाँ बराबरको क्षति भएको जनाइएको छ।

गौरीगङ्गा नगरपालिकाका प्रमुख देवीदत्त कँडेलले कार्यालय सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री विभिन्न दातृ निकायबाट करिब एक करोड रुपियाँ बराबरको सहयोग प्राप्त भएको बताए। भवन पुनर्निर्माणको काम भने नगरपालिकाको आन्तरिक स्रोतबाट गरिएको उनले जानकारी दिए। उनले भने, “पूरै पुनर्निर्माण अझै भएको छैन। चालु पुँजीका केही प्राथमिकतामा नपरेका खर्चका योजना कटाएर तथा समपूरक बजेटबाट पुनर्निर्माणमा लगाएका छौँ।” -गाेरखापत्रबाट 
 

कमेन्ट लोड गर्नुस