कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माण गर्न पुरातत्व विभागसँग अनुरोध
धनगढीः गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ढलेको कैलालीको ऐतिहासिक प्रशासनिक भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आफ्नो सबैभन्दा पुरानो प्रशासनिक भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई गुहारेको हो। राणाकालीन समयमा निर्माण गरिएको सो भवन गत वर्ष आन्दोलनकारीले आगजनी गर्दा पूर्ण रूपमा ध्वस्त भएको थियो। भवन पुनर्निर्माणका लागि पुरातत्व विभागलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सुब्बा राममूर्ति सिंहले जानकारी दिए।
उनका अनुसार जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपछि विभागको टोली आएर भवनको भग्नावशेष अनुगमन, निरीक्षणसमेत गरिसकेको छ । सिंह भन्छन्, “अनुगमनपछि पुरातत्व विभागले पुरानै अवस्थाको भवन पुनर्निर्माण गर्नुपर्ने भन्दै गृह मन्त्रालयलाई प्रस्ताव गरेको छ।”
भवनमा चन्द्रशमशेरको पालाको इँटा प्रयोग भएको पाइएको सुब्बा सिंहले बताए। उनका अनुसार भवन निर्माणमा काठ, इँटा र धुलो प्रयोग भएको थियो। उनले भने, “यो भवन निर्माणमा सिमेन्ट प्रयोग भएको थिएन। त्यसको सट्टा धुलो प्रयोग गरिएको थियो। विभागले पनि काठ, इँटा र धुलो प्रयोग गरेर पहिलेको जस्तै निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ।”
राणा शासनका बेला कैलाली र कञ्चनपुरको गोश्वारा (प्रशासनिक केन्द्र) कञ्चनपुरको बेलौरीमा राखिएको थियो। विसं १९९७ मा त्यो गोश्वारा धनगढी सारिएको बताइन्छ। त्यस ताकाको गोश्वारा नै पछि जिल्ला प्रशासन कार्यालयमा परिणत भएको हो यद्यपि भवन कहिले बनेको हो भन्ने प्रमाण पुष्टि हुने कुनै पनि अभिलेख जिल्ला प्रशासन कार्यालयमा छैन। ऐतिहासिक भवनबाट जिल्ला प्रशासन कार्यालयले कैयौँ वर्षदेखि आफ्नो कामकाज गर्दै आएको थियो। नेपाल सरकारले पछि नयाँ भवन निर्माण गरेपछि जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरे पनि राष्ट्रिय परिचयपत्रको काम भने पुरानै भवनबाट हुने गरेको थियो।
जेनजी आन्दोलनकारीको आगजनीबाट ढलेको ऐतिहासिक भवन एक वर्षदेखि लडेकै अवस्थामा छ। जिल्ला प्रशासन कार्यालयको पुरानो भवन कैलालीको ऐतिहासिक भवन रहेकाले यसको पुनर्निर्माण हुनुपर्ने आवाज नागरिकस्तरबाट पनि उठ्दै आएको छ। (गोरखापत्र)