सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहलमानपुर सबस्टेसनको ट्रान्सफर्मरमा खराबी, तीन दिनदेखि विद्युत् आपूर्तिमा समस्या

२०८३ भदौ २४, ०३:२५ अनुभव भट्ट

धनगढी: पहलमानपुर सबस्टेसनको ट्रान्सफर्मरमा खराबी आएपछि सबस्टेसनबाट विद्युत् उपभोग गरिरहेका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ। राजीपुरका स्थानीयले तीन दिनदेखि पर्याप्त भोल्टेज नपुग्दा समस्या भएको गुनासो गरेका छन्।

स्थानीयका अनुसार कम भोल्टेजका कारण मिलहरू सञ्चालन हुन सकेका छैनन्। मिल नचल्दा कुटाइपिसाइ गर्न नसकी धुलो चामल किन्नुपर्ने अवस्था आएको उनीहरूले बताएका छन्।

तीन दिन बितिसक्दा पनि समस्या समाधान हुन नसकेको भन्दै स्थानीयले विद्युत् प्राधिकरणले लापरवाही गरिरहेको आरोप लगाएका छन्।

पहलमानपुर सबस्टेसनका इलेक्ट्रिकल सुपरभाइजर सन्दीप चौधरीका अनुसार सबस्टेसनको ट्रान्सफर्मरमा समस्या आएपछि आंशिक लोडमा विद्युत् आपूर्ति गर्नुपर्ने अवस्था आएको हो। अन्य सबस्टेसनबाट व्यवस्थापन गरेर विद्युत् आपूर्ति गरिरहेको उनले जानकारी दिए।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रदेशका प्रमुख हरिप्रसाद पाण्डेका अनुसार ट्रान्सफर्मरको इन्सुलेसनमा समस्या देखिएको छ। उक्त समस्या भोलिसम्म समाधान हुने उनले जानकारी दिए।
 

अनुभव भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

 

कमेन्ट लोड गर्नुस