रास्वपा सांसद चौलागाईंको आक्रोश: ‘बजारमा मुख देखाएर हिँड्न गाह्रो भयो’
काठमाडौं: सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधुकुमार चौलागाईंले लामो समयदेखि जारी ग्यास अभाव समाधान गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन्।
बुधबार संसद्को शून्य समयमा बोल्दै चौलागाईंले ग्यास अभावका कारण बजारमा अवस्था भयावह बनेको बताए। लामो समयदेखि ग्यासको अभाव कायमै रहँदा सरकार के हेरेर बसेको भन्दै उनले प्रश्न गरे।
उनले भने, ‘भोटेकोशी बाढीले ठूलै बितन्डा मच्चायो । हामीले त्यसबाट ठूलो क्षति भोगेका छौँ। तर त्यससँगै अहिले बजारमा ग्यासको हाहाकार छ । ग्यास अभाव र हाहाकारका कारण बजारमा अहिले मुख देखाएर हिँड्न गाह्रो भयो । सरकार के हेरेर बसेको छ?’
त्यस्तै, सांसद चौलागाईंले गत वर्ष आन्दोलनका क्रममा बलिदानी दिएका जेनजीहरूको सम्झनामा मंगलबार बानेश्वरमा सरकारले आयोजना गरेको कार्यक्रमप्रति पनि प्रश्न उठाएका छन्।
सरकारका आठ जना मन्त्री सहभागी भएको उक्त कार्यक्रमको उद्घाटन विवादित धर्मगुरुको हातबाट गराइएको र गृहमन्त्री सुधन गुरुङले आपत्तिजनक अभिव्यक्ति दिएको विषयमा पनि उनले प्रश्न उठाए।
‘गत वर्ष बलिदानी गरेका जेनजीहरूको सम्झनामा हिजो कार्यक्रम आयोजना गरियो । त्यो कार्यक्रममा जेनजीहरूको भावनाविपरीत गएर किन गरियो ? त्यहाँ विवादित व्यक्तिहरूलाई किन सहभागी गराइयो ? त्यसबारे जवाफ दिनुपर्छ,’ उनले भने।