नेपाली भूमिमा राखिएको मैत्री पुलको बोर्डमा भारतीय ठेगाना, दार्चुलामा विरोध
दार्चुला: नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको पक्की पुलमा राखिएको साइनबोर्डमा नेपालको भूभागमा भारतको ठेगाना उल्लेख भएपछि दार्चुलामा विरोध सुरु भएको छ । पुलको नेपालतर्फ राखिएको बोर्डमा ‘नेपाल–भारत मैत्री सेतु’ उल्लेख भए पनि ठेगानामा ‘काली नदी, छारछुम’ लेखिएपछि स्थानीयस्तरमा आपत्ति जनाइएको हो ।
नेपालतर्फको पुल महाकाली नगरपालिका–८, असिगडा क्षेत्रमा पर्छ । पुलको भारततर्फ भने धारचुला तहसिलअन्तर्गत छारछुम क्षेत्र पर्छ । तर, नेपालतर्फ राखिएको साइनबोर्डमै भारततर्फको ठेगाना उल्लेख भएपछि स्थानीयले यसलाई सामान्य प्राविधिक त्रुटि मात्रै नभई सीमा संवेदनशीलतासँग जोडिएको विषयका रूपमा उठाएका छन् ।
कालापानी क्षेत्रलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको अवस्थामा नेपाली भूमिमा राखिएको संरचनाको बोर्डमा भारतीय भूभागको ठेगाना राखिनु आपत्तिजनक भएको स्थानीयको भनाइ छ । राजनीतिक दल, पत्रकार तथा नागरिकले तत्काल बोर्ड सच्याउन र यस्ता संवेदनशील विषयमा सरकारी निकायले निर्माणपूर्व नै निगरानी गर्नुपर्ने माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले नेपाली क्षेत्रमा राखिएको बोर्डमा नेपालको ठेगाना उल्लेख हुनुपर्नेमा भारतको ठेगाना राखिएको विषयमा परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको बताए । सीमा क्षेत्रका यस्ता विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय गर्नुपर्ने उनको भनाइ छ ।
स्थानीय रवि धामीले दुई देशबीचको सम्झौताअनुसार निर्माण भएको मैत्री पुलमा राखिने बोर्ड, लोगो र भाषाका विषयमा स्पष्ट मापदण्ड आवश्यक रहेको बताए । सीमा क्षेत्रमा निर्माण हुने संरचनामा प्रयोग हुने सामग्री तथा सूचनामूलक सामग्रीसमेत संवेदनशील हुने भएकाले दुवै देशका सम्बन्धित निकायबीच समन्वय हुनुपर्ने उनको धारणा छ ।
प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बोर्डमा देखिएको विषयबारे भारततर्फ धारचुलाका एसडीएम आशिषकुमार जोशीसँग कुराकानी भएको बताए । भारतीय पक्षबाट त्रुटि सच्याउने जानकारी आएको उनले बताए ।
मोटरेबल पुल निर्माणमा संलग्न निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेले साइनबोर्ड छपाउने क्रममा ठेगाना उल्लेख गर्दा त्रुटि भएको स्वीकार गरे । उनका अनुसार बोर्डमा भएको त्रुटि सच्याउने काम तत्काल अघि बढाइएको छ ।