धनगढीको प्रस्तावित बसपार्कका लागि जग्गा प्राप्तिमा प्रदेश सरकारले सहयाेग गर्ने
धनगढीः धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३ मा प्रस्ताव गरेको बसपार्कका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रियामा सुदूरपश्चिम प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले भदौ १० गते धनगढी उपमहानगरपालिकाको प्रस्तावित बसपार्कलाई प्राथमिकताको परियोजना भन्दै आवश्यक जग्गा प्राप्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। प्रदेश सरकारको निर्णयसँगै बसपार्क निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बसपार्कका लागि जग्गा प्राप्तिमा प्रदेश सरकारले गरेको निर्णयप्रति आभार व्यक्त गरेका छन्। उनले प्रदेश सरकारको निर्णयले धनगढीको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।
नगर प्रमुख हमालले मुख्यमन्त्री खगराज भट्ट, प्रदेश मन्त्रिपरिषद्का सम्पूर्ण मन्त्री, प्रमुख सचिव, वन मन्त्रालयका सचिव, अन्य सचिव तथा कर्मचारी र डिभिजन वन कार्यालय धनगढी कैलालीप्रति धनगढी उपमहानगरपालिकाका नगरवासीको तर्फबाट धन्यवाद तथा आभार व्यक्त गरेका छन्।