सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीपककुमार साह उद्योगमन्त्रीमा सिफारिस, आजै शपथ

२०८३ भदौ २५, ०५:२६ खबर संवाददाता

काठमाडौं: सुनसरी–४ बाट निर्वाचित रास्वपाका सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्। प्रधानमन्त्री बालेन शाहले साहको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्।

गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा साहलाई सिफारिस गरिएको हो। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार साहलाई सिफारिस गरिएको हो। राष्ट्रपति कार्यालयका अनुसार साहको पद तथा गोपनीयताको शपथ आज साँझ साढे ५ बजे हुने भएको छ।

साह चुनावअघि रास्वपा प्रवेश गरेका थिए। यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीबाट निष्काशनमा परेपछि आफ्नै दलसमेत गठन गरेका थिए। हाल उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै रहेका छन्।
 

कमेन्ट लोड गर्नुस