सुदूर नेपाललाई विश्वसँग जोड्दै

सालको पातमा लाख रुपैयाँ !

अबको चाहना, ‘उत्पादनसँगै धनगढीको नाम चिनियोस्’

२०८३ भदौ २९, ०३:४४ विन्दु चन्द

धनगढी : सालको पात टिप्न जंगल जाने एउटी महिला । गाउँका लागि यो सामान्य दृश्य हुन सक्छ । तर धनगढी उपमहानगरपालिका–१४ फुलबारी एच गाउँकी भावना पुलामी मगरका लागि सालको पात उनको जीवन बदल्ने आधार बन्यो ।
कुनै समय भावना अरूको घरमा काम गरेर परिवारको गुजारा चलाउँथिन् । घरको आर्थिक अवस्था कमजोर थियो । स्थायी आम्दानीको स्रोत थिएन । पढाइ पनि धेरै अगाडि बढ्न सकेन ।

त्यसैले उनको जीवनमा रोजगारीको विकल्प सीमित थियो । अरूको घरमा काम गर्ने, त्यसबाट आएको पैसाले घरखर्च चलाउने र अभावसँगै दिन बिताउने । 

तर एक दिन उनले सोचिन्, अर्काको घरमा काम गरेर कतिन्जेल बाँच्ने?’ त्यही प्रश्नले उनलाई उद्यमतर्फ डो¥यायो ।

आज भने उनै भावना सालको पातबाट दुनाटपरी उत्पादन गर्छिन् । उनको व्यवसायको वार्षिक कारोबार ५० लाख रुपैयाँभन्दा बढी पुगेको छ । उद्योगमा करिब ८० देखि ९० लाख रुपैयाँ बराबरको तयारी तथा कच्चा सामग्री स्टक रहने गरेको उनी बताउँछिन् । मेसिन तथा उपकरणमा मात्रै करिब २० लाख रुपैयाँ लगानी भएको छ ।

उनको उद्योगमा अहिले पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गाउँका महिलाले सालको पात संकलन गरेर उनलाई बिक्री गर्छन् ।

तर भावनाको यो सफलता एकैपटक भने आएको होइन ।

यसको पछाडि गरिबी, संघर्ष, सामाजिक अपहेलना, पारिवारिक असहयोग, बजारको अभाव र असफल विदेश यात्राको लामो कथा छ ।

‘अर्काको घरमा काम गरेर कतिन्जेल बाँच्ने?’

विवाहपछि भावना परिवारसंगै फुलबारीको एच गाउँमा बसिन् । आर्थिक अवस्था कमजोर भएका परिवारहरूको बसोबास रहेको उक्त बस्तीमा उनको परिवार पनि विपन्न अवस्थामै थियो ।

खान–लाउनकै लागि संघर्ष गर्नुपर्ने अवस्था थियो । भावना पनि जसो तसो दैनिकी चलाउंथिन् ।

उनलाई आफ्नै जस्तो अवस्थाका गाउँका धेरै महिलाको समस्या थाहा थियो । उनीहरू बेरोजगार थिए । पर्याप्त शिक्षा थिएन । आफ्नै आम्दानीको स्रोत थिएन ।

यही अवस्थाबीच केही महिलाले आपसमा छलफल गरे ।

‘यहाँ सबै महिला बेरोजगार थियौँ । पढेलेखेको पनि छैनौँ । एकदमै विपन्न वर्गमा पर्ने,’ भावना भन्छिन्, ‘खान–लाउनै धौधौ हुने, अर्काको घरमा काम गरेर गुजारा चलाउने बाध्यता थियो।’

उनीहरूलाई लाग्यो, अर्काको घरमा काम गरेर मात्रै जीवन चलाउनु भन्दा कुनै सीप सिकेर आफ्नै ठाउँमा काम गर्नुपर्छ ।

त्यसपछि उनीहरूले वडा कार्यालयमार्फत तालिमका लागि पहल गरे । दुनाटपरी बनाउने तालिम सञ्चालन भयो । २० जना महिलाले तालिम लिए । तर तालिम लिएर व्यवसायमा लाग्नेको संख्या भने निकै कम भयो ।

२० जनामध्ये भावना, सरिता बुढामगर र विष्णु भुषालले मात्रै तालिमलाई व्यवसायमा परिणत गरे । तीन जनाले मिलेर ‘फुलबारी दुनाटपरी उद्योग’ सुरु गरे ।

सानो लगानीबाट सुरु भएको उद्योगमा उनीहरूले करिब तीन वर्ष साझेदारीमा काम गरे ।

सहकर्मीको निधनपछि टुट्यो साझेदारी

व्यवसाय विस्तार हुँदै जाने क्रममा उनीहरूले ठूलो क्षति बेहोर्नुप¥यो । उनीहरूलाई काम सिकाउने र उद्योग सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अनुभवी सहकर्मीको निधन भयो ।

त्यसपछि व्यवसाय सञ्चालनमा समस्या आउन थाल्यो ।

‘मुख्य मान्छे नै नहुँदा बिना अभिभावकको बच्चाजस्तै भइयो,’ भावना सम्झिन्छिन्, ‘सहकर्मी तथा सिकाउने गुरुको निधनपछि हाम्रो साझेदारी टुट्दै गयो। चलाउन नसक्ने स्थिति आएपछि हामीले एक्लाएक्लै गर्ने सहमति ग¥यौँ।’

त्यसपछि भावना एक्लै व्यवसाय सञ्चालन गर्ने बाटोमा लागिन् । तर साझेदारी टुटेसँगै उनको चुनौती पनि थपियो । न पर्याप्त लगानी थियो, न बजार सुनिश्चित थियो ।

सालको पात संकलनदेखि उत्पादन र बजारसम्मको काम आफैँ सम्हाल्नुपर्ने अवस्था आयो ।

घरमा साना बालबालिका थिए । श्रीमान् विदेशमा थिए । उद्योग चलाउने पैसा थिएन । त्यसमाथि समाजको प्रश्न । ‘पातले के नै कमाउँछ र?’

भावनाले दुनाटपरी बनाउन थालेपछि गाउँमा उनको चर्चा हुन थाल्यो । तर त्यो चर्चा प्रोत्साहनको थिएन । कतिपयले उनको कामलाई होच्याउँथे ।

‘पातले के नै कमाउँछ र?’ भन्ने प्रश्न उनलाई बारम्बार सुनाइन्थ्यो ।

भावना सम्झिन्छिन्, उनी जहाँ गए पनि आफ्नै व्यवसाय र आफ्नो निर्णयबारे कुरा काटेको सुन्थिन् ।

‘गाउँभरि कुरा काट्ने । यसले के गर्ली र? पातले कति नै उत्पादन गर्ला र? भनेर कुरा गर्थे,’ उनी भन्छिन्, ‘जता गए पनि आफ्नै बारेमा नराम्रो कुरा मात्रै सुन्थेँ।’

सामाजिक दबाबका कारण उनी मानसिक रूपमा समेत निकै तनावमा पर्थिन् ।

‘धेरै दुख लाग्थ्यो । रातभर रोएर बिताउँथेँ,’ उनी भन्छिन्, ‘तर पनि काम गर्न छोडिनँ।’

त्यही अडान उनको व्यवसायको सबैभन्दा ठूलो पुँजी बन्यो ।

जंगल जाँदा पनि प्रश्न

दुनाटपरीका लागि आवश्यक सालको पात जंगलबाट ल्याउनुपथ्र्यो । तर पात किन्न आवश्यक पैसा थिएन । त्यसैले भावना आफैँ जंगल जान्थिन् । एक्लै जंगल जानु पनि उनका लागि सहज थिएन । गाउँमा विभिन्न प्रश्न उठाइन्थे । 

‘पात ल्याउन जंगल जानुपथ्र्यो । टिपेर ल्याइदिने कोही थिएन । किन्नका लागि पैसा थिएन,’ उनी भन्छिन्, ‘एक्लै जंगल जाँदा कोसँग गयो, किन गयो, कतिबेला गयो भनेर प्रश्न आउँथ्यो।’

उनका लागि घर र समाज दुवैतर्फबाट दबाब थियो । श्रीमान् विदेशमा थिए । घरमा पनि व्यवसायलाई लिएर प्रश्न उठ्थ्यो । समाजमा पनि कुरा काटिन्थ्यो ।

तर भावना रोकिइनन् । जंगलबाट पात ल्याइन् । दुनाटपरी बनाइन् । बजार खोज्दै हिँडिन् ।

उत्पादन बोकेर बजार पुग्दा अर्को संघर्ष

व्यवसायमा उत्पादन गर्नु एउटा चुनौती थियो । बिक्री गर्नु अर्को । भावनाले बनाएका दुनाटपरी लिएर बजार पुग्थिन् । तर ग्राहकले सजिलै सामान किन्दैनथे । कतिपयले सामानमा कमी–कमजोरी खोज्थे । कतिपयले धेरै जाँच गर्थे । कतिपयले अन्तिममा सामान नै नकिन्ने अवस्था आउँथ्यो ।

‘घरबाट हाँस्दै लग्नु पर्ने, आउँदाखेरी रुदै आउनुपर्ने अवस्था हुन्थ्यो,’ उनी भन्छिन्, ‘कहिले सामान बिक्री नहुने रुँदै घर आउनुपर्ने हुन्थ्यो।’

तर बजारमा सामान नबिकेको दिन पनि अर्को दिन उत्पादन रोकिएन । उनलाई थाहा थियो, व्यवसाय चलाउन बजारसँगै धैर्य पनि चाहिन्छ ।

श्रीमानको असहमति

भावनाले व्यवसाय सुरु गर्दा परिवारबाट अपेक्षित सहयोग पनि पाइनन् । उनका श्रीमान् कर्णबहादुर पुलामी मगर पनि सुरुमा यो व्यवसायप्रति सकारात्मक थिएनन् ।

कर्णबहादुरका अनुसार उनले कमाएको तथा परिवारको आम्दानी व्यवसायमै लगानी गर्दा घरका अन्य काम प्रभावित हुने चिन्ता थियो ।

‘सुरुमा यो गर्छु भन्दा मैले असहमति जनाएँ,’ कर्णबहादुर भन्छन्, ‘मैले कमाएको पैसा पनि यसको व्यवसायमै ठिक्क हुने र अर्को काम रोकिने भन्ने लाग्थ्यो। यसै कारण हाम्रो झगडा पनि धेरै हुन्थ्यो।’

तर अहिले भने परिस्थिति बदलिएको छ । भावनाको व्यवसायले बजार पाएको छ । आम्दानी बढेको छ । घरपरिवारमा पनि त्यसको प्रभाव परेको छ ।

सुरुमा असहमति जनाएका श्रीमान् अहिले व्यवसाय सफल भएको देखिरहेका छन् ।

व्यवसाय नचलेपछि विदेश जाने तयारी

व्यवसायले अपेक्षित गति लिन नसकेपछि भावनाले विदेश जाने विकल्प पनि रोजिन् । रोजगारीका लागि विदेश जाने तयारी गरिन् ।

म्यानपावर कम्पनीलाई २४ हजार रुपैयाँ तिरिन् । उनलाई ‘फ्री भिसा’को आश्वासन दिइएको थियो । तर पछि एजेन्टले थप साढे तीन लाख रुपैयाँ मागे ।

त्यो रकम जुटाउन उनीसँग सम्भव भएन । ऋण माग्दा पनि पैसा पाउन सकिनन् । विदेश जाने योजना रोकियो ।

‘त्यति पैसा जुटाउन सक्ने अवस्था थिएन,’ उनी भन्छिन्, ‘ऋण माग्दा पनि कसैले दिएन।’

विदेश जाने सपना असफल भएपछि उनी फेरि आफ्नै व्यवसायतर्फ फर्किइन् । तर त्यही समयमा वडाबाट आएको सहयोगले उनको यात्रामा नयाँ मोड ल्यायो ।

वडाको ५० हजार सहयोग र फेरि सुरु भएको व्यवसाय

वडा कार्यालयले उनलाई विदेश नजान आग्रह गर्दै व्यवसायमै सहयोग गर्ने प्रतिबद्धता जनायो । उनका अनुसार वडाबाट ५० हजार रुपैयाँ सहयोग भयो । एउटा मेसिन पनि उपलब्ध गराइयो । त्यसपछि भावनाले व्यवसायलाई पुनः व्यवस्थित गर्ने निर्णय गरिन् ।

उनले थप महिलालाई दुनाटपरी बनाउने तालिम दिन थालिन् । २५ जना महिलालाई तालिम दिइन् ।

तीमध्ये करिब १५ जना अहिले पनि सालको पात संकलन गरेर उनलाई दिने गर्छन् । उनीहरूले संकलन गरेको पात भावनाले खरिद गर्छिन् ।

यसले भावनाको उद्योगलाई कच्चा पदार्थको आपूर्ति मात्र दिएको छैन, गाउँका महिलालाई पनि आम्दानीको बाटो बनाएको छ ।

वडाबाट सहयोग पाएपछि भावनाले आफ्नै तर्फबाट करिब ३० हजार रुपैयाँ थपेर सानो मेसिनसमेत खरिद गरिन् ।

सानो लगानी र एउटा मेसिनबाट सुरु भएको व्यवसाय विस्तार हुँदै गयो ।

कोरोनाले बदलिदियो दुनाटपरीको बजार

भावनाको व्यवसायका लागि सबैभन्दा ठूलो मोड कोरोना महामारीका बेला आयो । लकडाउनका कारण धेरै व्यवसाय प्रभावित भए । तर दुनाटपरीको माग भने बढ्न थाल्यो ।

कोरोना संक्रमणको जोखिमका कारण मानिसहरू एउटै भाँडामा खाना खान हिच्किचाउन थाले । एकअर्कासँगको प्रत्यक्ष सम्पर्क कम गर्नुपर्ने अवस्था बन्यो ।

त्यही बेला सालको पातबाट बनेका दुनाटपरीको प्रयोग बढ्यो । भावनाको उत्पादनले पनि बजार पाउन थाल्यो ।

‘कोरोनाले हाम्रो दुनाटपरीलाई नयाँ जीवन दियो,’ उनी भन्छिन्।

उनका अनुसार त्यसपछि दैनिक करिब २० हजार रुपैयाँसम्मको बिक्री हुन थाल्यो । त्यसपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो उत्पादनको प्रचार गर्न थालिन् ।

टिकटक तथा अन्य अनलाइन माध्यममा उत्पादनका भिडियो र जानकारी राख्न थालिन् । यसले उनको बजारलाई स्थानीय सीमाबाट बाहिर पु¥यायो ।

धनगढीबाट पोखरा, काठमाडौं हुँदै हङकङसम्म

आज भावना आफैँ बजार खोज्दै हिँड्नुपर्ने अवस्थामा छैनन् । उनका दुनाटपरी धनगढीबाहेक पोखरा, काठमाडौं, कोहलपुर, नेपालगञ्ज, बुटवललगायतका शहरमा पुग्छन् ।

पोखराबाट उनका उत्पादन विदेशसम्म जाने गरेका छन् । उनका अनुसार हङकङसम्म पनि दुनाटपरी पुगेका छन् ।

यसरी फुलबारीको एउटा सानो गाउँबाट सुरु भएको उत्पादन अहिले देशका विभिन्न बजार हुँदै विदेशसम्म पुगेको छ ।

उद्योगमा अहिले पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । सालको पात संकलन गर्ने महिलाहरू पनि भावनाको व्यवसायसँग जोडिएका छन् ।

अर्थात् एउटा महिलाले सुरु गरेको व्यवसाय अहिले गाउँका अन्य महिलाको आम्दानीसँग पनि जोडिएको छ ।

पातको व्यवसायबाट घर र जग्गा

भावनाले सुरुमा दुनाटपरीबाट यति ठूलो आम्दानी होला भन्ने कल्पना गरेकी थिइनन् । तर अहिले यही व्यवसाय उनको परिवारको आर्थिक आधार बनेको छ ।

व्यवसायबाट भएको आम्दानीले घर र जग्गासमेत जोडेको उनी बताउँछिन् । सानो लगानीबाट सुरु भएको उद्योगमा अहिले करिब २० लाख रुपैयाँ बराबरका मेसिन तथा उपकरण छन् ।

करिब ८० देखि ९० लाख रुपैयाँ बराबरको सामान स्टकमा रहने गरेको उनी बताउँछिन् ।

तर भावनाको सफलताले गाउँमा कामको सम्भावना पनि देखाएको छ । 

अबको चाहना, ‘उत्पादनसँगै धनगढीको नाम चिनियोस्’

व्यवसायले बजार पाइसके पनि भावना पूर्ण रूपमा सन्तुष्ट छैनन् । उनको अबको चिन्ता बजारभन्दा पनि पहिचानसँग जोडिएको छ । उनी आफ्नो उत्पादनलाई धनगढीको पहिचानसँग जोड्न चाहन्छिन् ।

‘बजार त पाएँ । तर म यतिमै सन्तुष्ट छैनँ,’ भावना भन्छिन्, ‘उत्पादन गरेँ, पैसा कमाएँ । तर उत्पादन गरेको नाम र ठाउँ कसरी चिनाउने भन्ने गुनासो छ।’
उनको चाहना छ, दुनाटपरीमा धनगढीको लोगो होस् ।

‘धनगढीको लोगो लगाउन पाए हुन्थ्यो,’ उनी भन्छिन्, ‘यो ठाउँको उत्पादन हो भनेर चिनिन्थ्यो।’

उनका लागि अबको लक्ष्य कारोबार बढाउनु मात्रै होइन । आफ्नो उत्पादनलाई एउटा छुट्टै पहिचान दिनु पनि हो ।

जहाँ समाजले सम्भावना देखेन, त्यहीँबाट बन्यो भविष्य

भावनाको जीवनमा कुनै एक दिन अचानक परिवर्तन आएको होइन । उनीसँग ठूलो पूँजी थिएन । शैक्षिक योग्यता बलियो थिएन । व्यवसायिक अनुभव पनि थिएन । सुरुमा परिवारको साथ थिएन । समाजको विश्वास थिएन । बजार सुनिश्चित थिएन । तर एउटा कुरा थियो, काम गर्ने आँट ।

त्यही आँटले उनलाई जंगलसम्म पु¥यायो । त्यही आँटले बजारमा सामान बोकेर हिँडायो । त्यही आँटले सामाजिक अपहेलना सहन सिकायो ।

व्यवसाय नचलेपछि विदेश जाने निर्णय गर्नुपरे पनि अन्ततः उनी आफ्नै सीपमा फर्किइन् । आज सालको पात उनको आम्दानीको स्रोत मात्रै होइन, उनको पहिचान बनेको छ ।

कुनै समय ‘पातले के नै कमाउँछ र?’ भनेर प्रश्न गर्नेहरूका अगाडि अहिले उनको व्यवसाय आफैँ जवाफ बनेको छ ।

भावना अहिले यही व्यवसायलाई अझ विस्तार गर्न चाहन्छिन् । धनगढीमा बनेको दुनाटपरी भनेर देशभर चिनियोस् । सम्भव भए विदेशसम्म पनि आफ्नै ठाउँको नाम बोकेर पुगोस भन्ने उनको सपना छ ।

‘काम सानो–ठूलो हुँदैन’ भन्ने कुराको एउटा जीवित उदाहरण हुन् भावना पुलामी मगर ।

                                  दिनेश एफएम तथा दिनेश खबरले स्वतन्त्र रुपमा कार्यक्रम आँटको उडान उत्पादन गरेको छ ।
यो कार्यक्रममा आफ्नै ठाउँमा सम्भावना देखेर संघर्ष गरिरहेका, आफ्नै उद्यमबाट पहिचान बनाइरहेका र रोजगारी समेत सिर्जना गरिरहेका उद्यमी महिलाहरूको सफलताको कथा हरेक शुक्रबार राति ८ बजे रेडियो दिनेश एफएम ९३.८ मेगाहर्जमा प्रसारण गरिन्छ र दिनेशखबरको वेबसाइडमा प्रकाशन गरिन्छ । 
तपाईले चिनेका, रोजगारी सिर्जना गरिरहेका यस्ता सफल उद्यमी महिला छन भने हामीलाई सम्पर्क गर्नुहोस् है । 


 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस