कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ
कैलाली: कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो शंका लागेर चेकजाँच गर्ने क्रममा घोडाघोडी नगरपालिका–२ का ३६ वर्षीय कृष्ण चौधरीको साथबाट ५१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद भएको थियो। उनलाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यस्तै, सोही स्थानमा गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भजनी नगरपालिका–८ का ३३ वर्षीय देवेन्द्र शाही र अछामको साँफेबगर नगरपालिका–१० का ३० वर्षीय अनिल भुल रहेका छन्।
प्रहरीका अनुसार उनीहरू से.६ प ३६६२ र भे.३ प ९४८४ नम्बरका मोटरसाइकलमा सवार रहेका बेला प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले चेकजाँच गरेको थियो। सो क्रममा उनीहरूको साथबाट ७५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।