सुदूर नेपाललाई विश्वसँग जोड्दै

जुवाको खालबाट सरकारी मोटरसाइकल बरामद, कुन कार्यालयको हो खुल्न बाँकी

२०८३ भदौ ३१, ०३:३४ खबर संवाददाता

धनगढी: कैलालीको गोदावरी नदी किनारमा प्रहरीले जुवातास खेलिरहेको सूचनाका आधारमा छापा मार्दा सरकारी मोटरसाइकलसहित ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार गोदावरी नदी किनारमा जुवातास खेलिरहेको सूचना पाएपछि टोली परिचालन गरी छापा मारिएको हो। सो क्रममा विभिन्न व्यक्तिका मोटरसाइकलसँगै सरकारी नम्बर प्लेट भएको से १ ब ११८१ नम्बरको मोटरसाइकलसमेत बरामद भएको हो।

बरामद भएको सरकारी मोटरसाइकल कुन सरकारी कार्यालयको हो भन्ने खुलेको छैन। त्यस्तै, सरकारी मोटरसाइकल जुवाको खालसम्म कसले र कुन प्रयोजनका लागि लगेको थियो भन्ने विषय पनि अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट नियन्त्रणमा लिइएका मोटरसाइकल र घटनामा संलग्न व्यक्तिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सरकारी मोटरसाइकल जुवाको खालसम्म कसरी पुग्यो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस