सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद रिक्त

२०८३ भदौ ३१, ०३:४६ खबर संवाददाता

धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद रिक्त भएको छ । निर्वाचन आयोगले दल त्याग गरी अर्को दलमा आबद्ध भएका स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको जानकारी सार्वजनिक गरेसँगै गिरीको उपाध्यक्ष पद रिक्त भएको हो।

गिरी २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट बर्दगोरिया गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि उनले माओवादी केन्द्र परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागिता जनाएका थिए ।

माओवादी केन्द्रले गिरीलाई पार्टीबाट निष्कासन गरिएको निर्णयसहितको जानकारी निर्वाचन आयोगमा पठाएको थियो । आयोगका अनुसार स्थानीय तह निर्वाचनमा जुन दलबाट निर्वाचित भएको हो, सोही दल त्याग गरेमा सम्बन्धित जनप्रतिनिधिको पद रिक्त हुने कानुनी व्यवस्था छ ।

माओवादी केन्द्रबाट निर्वाचित गिरीले पछि उक्त दल परित्याग गरेको पुष्टि भएपछि उनको उपाध्यक्ष पद रिक्त भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार देशभर दुई उपाध्यक्षसहित १० जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । पद रिक्त हुनेमा तत्कालीन माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित दुई उपाध्यक्ष तथा आठ वडाध्यक्ष छन् ।

कमेन्ट लोड गर्नुस