कैलाली जनपुस्तकालयद्वारा शैक्षिक सामग्री हस्तान्तरण
धनगढीः राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा धनगढीस्थित कैलाली जनपुस्तकालयले अत्तरियास्थित श्री महिला तथा बालबालिका सेभ हाउसमा रहेका ३९ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
पुस्तकालयले करिब १० हजार रुपैया बराबरका कापी, कलम, क्याल्कुलेटर, ज्यामिती बक्स, चार्ट पेपर, व्याकरणका पुस्तक, पेन्सिललगायत विभिन्न शैक्षिक तथा सन्दर्भ सामग्री विद्यार्थीलाई प्रदान गरेको हो। विद्यार्थीहरूको आवश्यकता र अध्ययनलाई ध्यानमा राखी सामग्री छनोट गरिएको पुस्तकालयले जनाएको छ।
यसअघि १९औँ राष्ट्रिय पुस्तकालय दिवस २०८३ को अवसरमा भाद्र १५ गते आयोजना गर्ने तय भएको ‘शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रम’ भोटेकोशीमा आएको हिमबाढीका कारण देश शोकमा रहेको अवस्थामा स्थगित गरिएको थियो। स्थगित कार्यक्रमलाई राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आज सञ्चालन गरिएको हो।
महिला तथा बालबालिका सेभ हाउसमा विभिन्न कारणले संरक्षण तथा आश्रयको आवश्यकता परेका बालबालिकाहरू बस्दै आएका छन्। पारिवारिक संरक्षणबाट वञ्चित, अभिभावकविहीन तथा जोखिमपूर्ण परिस्थितिमा रहेका बालबालिकालाई सुरक्षित वातावरणमा राखी उनीहरूको शिक्षा, पालनपोषण र संरक्षणमा सेभ हाउसले काम गर्दै आएको छ।
शैक्षिक सामग्रीको अभावका कारण अध्ययनमा असर नपरोस् र बालबालिकालाई आफ्नो अध्ययनलाई निरन्तरता दिन सहज होस् भन्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको कैलाली जनपुस्तकालयले जनाएको छ। आवश्यक कापी, कलम, ज्यामिती बक्स, सन्दर्भ पुस्तक तथा अन्य सामग्री उपलब्ध हुँदा विद्यार्थीलाई नियमित अध्ययनमा सहयोग पुग्नुका साथै सिकाइप्रति थप उत्साह र रुचि बढ्ने अपेक्षा गरिएको छ।
कार्यक्रमबारे कैलाली जनपुस्तकालयका सचिव सुभाष सङ्कल्प भण्डारीले पुस्तकालय केवल पुस्तक पढ्ने स्थान मात्र नभई समुदायको शैक्षिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने संस्था भएकाले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम आयोजना गरिएको बताए।
उनले संरक्षणको आवश्यकता भएका बालबालिकाको शिक्षामा सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरूको आवश्यकताअनुसार शैक्षिक सामग्री उपलब्ध गराइएको बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने जानकारी दिए।
कैलाली जनपुस्तकालयले विगतदेखि नै पुस्तकालय सेवा विस्तारसँगै बालबालिका, विद्यार्थी तथा समुदायको शैक्षिक विकासमा सहयोग पुग्ने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।