बाजुरामा हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
बाजुरा: बाजुरामा सुत्केरी भएपछि अत्यधिक रक्तश्रावका कारण जटिल अवस्थामा पुगेकी एक महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
गौमुल गाउँपालिका–५ कोटकी २६ वर्षीया मनिषा रोकायाको मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उनलाई थप उपचारका लागि कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।
जिल्ला अस्पताल बाजुराका अनुसार रोकायालाई अत्यधिक रक्तश्राव भइरहेको थियो। उनको शरीरमा करिब ६ प्वाइन्ट रगत रहेको र अन्य स्वास्थ्य समस्या समेत देखिएपछि अवस्था जटिल बनेको थियो।
गौमुल गाउँपालिका–५ स्थित आधारभूत सामुदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएकी रोकायाको रक्तश्राव नरोकिएपछि आफन्तले नौ दिनपछि मात्र जिल्ला अस्पताल बाजुरा ल्याएका थिए। सोमबार अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएकी उनको अवस्था गम्भीर देखिएपछि चिकित्सकले थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान रेफर गरेका थिए।
रोकायाको ज्यान जोखिममा रहेको भन्दै चिकित्सकको सिफारिसका आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकोप्टरबाट उद्धार गरिएको हो।