लगातार वर्षापछि बाजुरामा आइतबार बिहानसम्म सवारी सञ्चालनमा रोक
बाजुरा: लगातार भइरहेको वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै बाजुरामा लामो तथा छोटो दूरीका सबै प्रकारका सवारी साधन सञ्चालनमा लगाइएको रोकलाई असोज ११ गते बिहानसम्म निरन्तरता दिइएको छ।
जिल्ला प्रशासन कार्यालय, बाजुराले असोज १० गते सूचना जारी गर्दै असोज ११ गते बिहान ७ बजेसम्म जिल्लाभर सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाजुरालाई अति जोखिमयुक्त जिल्लाको सूचीमा राखेको र असोज ९ गते दिउँसोदेखि लगातार वर्षा भइरहेकाले सम्भावित क्षति न्यूनीकरणका लागि सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
यसअघि असोज ९ गते साँझ ५ बजेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो। वर्षा र जोखिमको अवस्था कायमै रहेपछि उक्त रोकलाई असोज ११ गते बिहानसम्म निरन्तरता दिइएको हो।
प्रशासनले सर्वसाधारणलाई यात्रा स्थगित गरी सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। अत्यावश्यक वा आकस्मिक अवस्था परेमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
आकस्मिक सम्पर्क नम्बर:
प्रमुख जिल्ला अधिकारी : ९८५८४४७७७७
सहायक प्रमुख जिल्ला अधिकारी : ९८५८४८०८१४
जिल्ला प्रहरी कार्यालय प्रमुख : ९८५८४४५५५५
जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र : १२३४
नेपाल प्रहरी : १००
सशस्त्र प्रहरी : १११४