धनगढीमा चोरी भएको भनिएको स्कुटर झुक्किएर लगिएको पुष्टि
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–तारानगरबाट हराएको भनिएको स्कुटर चोरी नभई झुक्किएर लगिएको पाइएको छ।
तारानगरस्थित पोट्ली फुड्स अगाडिबाट से २ प ५७८५ नम्बरको स्कुटर राति पार्किङ गरिएको अवस्थामा हराएको थियो। केक एन्ड गिफ्ट हाउसबाट यातायाततर्फ जाने सडकमा पार्किङ गरिएको स्कुटर राति करिब ११ बजेर २२ मिनेटदेखि ११ बजेर ३० मिनेटको बीचमा लगिएको थियो।
स्कुटर लैजाने व्यक्ति घटनास्थलमा रहेको सीसीटीभी क्यामेरामा समेत देखिएका थिए। तर, उनले सोही स्थानमा आफ्नो स्कुटर पनि पार्किङ गरेका कारण झुक्किएर अर्काको स्कुटरलाई आफ्नै सम्झेर लगेको खुलेको छ।
घटनापछि स्कुटरधनीसँग भएको कुराकानीका क्रममा स्कुटर फेला परेको र केही क्षति पुगेकोले लैजाने व्यक्तिले आफैं मर्मत गरिदिने बताएपछि स्कुटरधनीले प्रहरीमा दिएको निवेदनसमेत फिर्ता लिएका छन्।
यसअघि सीसीटीभीमा स्कुटर लैजाँदै गरेको दृश्य देखिएपछि चोरी भएको आशंका गरिएको थियो। तर, पछि स्कुटर झुक्किएर लगिएको पुष्टि भएको हो।