सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुटिया पुलमा स्कारपियोलाई इभी हाइसले ठक्कर दिँदा तीन जना घाइते

२०८३ असोज ११, १२:५९ खबर संवाददाता

कैलालीः कैलालीको गोदावरी नगरपालिका–८ स्थित खुटिया पुलमा इभी हाइसले स्कारपियोलाई पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत खुटिया पुलमा बा.२१ च.५५५९ नम्बरको स्कारपियोलाई सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०१–००१ ज १७०४ नम्बरको इभी हाइसले ठक्कर दिएको हो।

दुर्घटनामा स्कारपियोमा सवार गौरीगंगा नगरपालिका–१, चौमालाकी २२ वर्षीया दमयन्ती राना तथा स्कारपियो चालक विकास चौधरीका ९ वर्षीया छोरी युनिसा चौधरी र ६ वर्षीया आयना चौधरी घाइते भएका छन्।

घाइते तीनै जनालाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। स्कारपियो चालक विकास चौधरी र इभी हाइस चालक गौरीगंगा नगरपालिका–५ का २८ वर्षीय मनोहर सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस