सुदूर नेपाललाई विश्वसँग जोड्दै

निरन्तरको वर्षाले सुदूरपश्चिमका विभिन्न ठाउँमा पहिरो, सडक भासिए

२०८३ असोज १२, ०९:१९ खबर संवाददाता

धनगढी: शुक्रबारदेखि भइरहेको निरन्तर वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा पहिरो खस्दा जनजीवन प्रभावित भएको छ। प्रदेशका पहाडी जिल्लामा पहिरोका कारण केही परिवार विस्थापित भएका छन् भने विभिन्न स्थानका सडकमा क्षति पुगेको छ। कतिपय ठाउँमा सडक भासिएपछि यातायात सञ्चालनमा समेत चुनौती थपिएको छ।

बैतडीको सुर्नया गाउँपालिका–८ ढोलेको रातापानी टोलमा पहिरोका कारण २० भन्दा बढी परिवार जोखिममा परेका छन्। निरन्तर पहिरो खस्न थालेपछि रातापानी र तल्लोढोलेका स्थानीय जोखिममा परेको स्थानीय डम्मर बोहराले बताए।

यस्तै, दशरथचन्द नगरपालिका–४ बबेतमा गाउँमाथिबाट खसेको पहिरोले पार्वती ओडको कच्ची घर पूर्ण रूपमा भत्किएको छ। सोही स्थानका महेशराम ओड, नरेशराम ओड, लछीराम ओड, जगदीश ओड र दमन ओडका घरसमेत पहिरोको उच्च जोखिममा रहेका छन्।

लगातारको वर्षाका कारण प्रदेशका मुख्य तथा सहायक राजमार्गसमेत प्रभावित भएका छन्। कतिपय स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ भने केही ठाउँमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या आएको छ। रुख तथा ढुंगा खसेर समेत सडक अवरुद्ध भएका छन्।

अवरुद्ध सडक खुलाउन सडक विभाग, ट्राफिक प्रहरी र स्थानीय तहले समन्वय गरी काम गरिरहेका छन्। सडक भासिएका तथा जोखिमयुक्त स्थानमा तत्कालका लागि एकतर्फी रूपमा सवारी सञ्चालन गराउने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

ट्राफिक प्रहरीका अनुसार तीन दिनदेखिको निरन्तर वर्षाका कारण कैलालीको गोदावरी क्षेत्रमा सडक भासिएको छ। सडक भासिएपछि उक्त क्षेत्रमा यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ।

दार्चुलामा पहिरो तथा ढुंगा खस्दा महाकाली राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन्। पहिरो र ढुंगा पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ। डडेल्धुराको जोगबुढा–बुडर सडक खण्डमा पनि पहिरोका कारण यातायात अवरुद्ध भएको छ। सडक आसपासका भिरालो क्षेत्रमा पहिरो खस्ने क्रम बढेपछि आवागमन प्रभावित भएको हो।

यस्तै, अछाम–बाजुरा जोड्ने राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ। अछामको चौखुट्टे क्षेत्रमा सडक भासिँदा आवागमन प्रभावित भएको छ। डडेल्धुरा–डोटी सडक खण्डमा समेत सडक भासिएपछि यातायात सञ्चालनमा समस्या आएको छ।

भीमदत्त राजमार्गका विभिन्न स्थानमा रुख ढलेर सडक अवरुद्ध भए पनि ढलेका रुख हटाएपछि अधिकांश स्थानमा यातायात सञ्चालनमा ल्याइएको छ।

निरन्तर वर्षाका कारण सुदूरपश्चिमका तराईदेखि पहाडी जिल्लासम्मको जनजीवन प्रभावित भएको थियो। सडक तथा यातायात सेवामा समेत प्रत्यक्ष असर परेको छ। वर्षा क्रमशः कम हुँदै जाने र मनसुन कमजोर बन्ने क्रमसँगै जनजीवन पनि बिस्तारै सामान्य बन्दै जाने अपेक्षा गरिएको छ।

कमेन्ट लोड गर्नुस