खेलकुद र खेलाडीको वृत्ति विकासमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले खेलकुद क्षेत्र र प्रतिभावान् खेलाडीको वृत्ति विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता छनोट खेलअन्तर्गत डडेलधुरामा सञ्चालन भएको भलिबल प्रतियोगिताको समापन समारोहमा उनले सुदूरपश्चिमलाई खेलकुदको ‘हब’का रूपमा विकास गर्न आवश्यक रहेको र त्यसका लागि सबैसँग सहकार्य गरिने बताए।
मुख्यमन्त्री भट्टले खेलकुदलाई मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखी पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धि र प्रदेशको पहिचान स्थापित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले खेल पर्यटनको माध्यमबाट सुदूरपश्चिमलाई समृद्ध बनाउन योजनाबद्ध पहल र पूर्वाधार निर्माणको आवश्यकता औँल्याए।
मुख्यमन्त्री भट्टले विश्वका धेरै देश खेलकुद र खेलाडीका माध्यमबाट अन्तर्राष्ट्रिय रूपमा परिचित भएको उदाहरण दिँदै सुदूरपश्चिमको पहिचान स्थापित गर्न यहाँका खेलाडीले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्नुपर्ने जोड दिए।
“खेलाडीको क्षमता अभिवृद्धि, वृत्तिविकास, खेल पूर्वाधार निर्माण तथा खेलकुद क्षेत्रको संस्थागत विकासका लागि प्रदेश सरकारले आवश्यक सहयोग र सहकार्यमा कुनै कसर बाँकी राख्ने छैन। मिलेर खेल क्षेत्रको समग्र विकास गर्न हामी प्रतिबद्ध छौँ”, मुख्यमन्त्री भट्टले भने।