सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुल भाँचिएपछि रोकियो आवागमन, क्षतिको प्राविधिक अध्ययन सुरु

२०८३ असोज १४, १२:३६ खबर संवाददाता


कञ्चनपुर– कञ्चनपुर दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिबारे सरकारले प्राविधिक अध्ययन थालेको छ । आज बिहान झोलुङ्गे पुलको एउटा स्पान र बीचको टावर नै खसेपछि हाल पूर्णरुपमा आउ–जाउ बन्द भएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले आज बिहान क्षतिग्रस्त पुलको निरीक्षण गर्दै पुल कसरी क्षतिग्रस्त भयो भन्नेबारे प्राविधिक अध्ययन अगाडि बढाइने बताए ।

प्रजिअ कोइरालाका अनुसार आज बिहानै पुल ‘डिसब्यालेन्स’ भएको सूचना पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरी तत्काल आवतजावत बन्द गरिएको थियो । बिहान करिब आठ बजेतिर पुलको एउटा भाग नै नदीमा खसेको थियो । अहिले पुलबाट आवतजावत गर्न सक्ने अवस्था छैन ।

‘पुलको एउटा स्पान, बीचको एउटा टावर नै खसेको अवस्था छ । अहिले आवतजावत हुन सक्ने अवस्था छैन,’ प्रमुख जिल्ला अधिकारी कोइरालाले भने ।

कोइरालाका अनुसार पुलको क्षतिको प्राविधिक कारण पहिचान गर्न सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गतको पूर्वाधार निर्देशनालयको प्राविधिक टोली बोलाइएको छ । उक्त टोलीले स्थलगत निरीक्षण गरी पुल कसरी क्षतिग्रस्त भयो भन्ने प्राविधिक विश्लेषण गर्ने छ ।

प्राविधिक टोलीको अध्ययनपछि मर्मत तथा पुनः सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ । प्रदेश सरकारको क्षेत्राधिकार र क्षमताभित्रबाट समस्या समाधान गर्न सकिने भए प्रदेशबाटै काम अघि बढाउने र प्रदेशबाट समाधान हुन नसक्ने देखिए संघीय सरकारसँग समन्वय गरिने उनले बताए ।

‘प्राविधिक विश्लेषणपछि प्रदेश सरकारबाट हुने रहेछ भने हामी त्यसअनुसार अगाडि बढ्छौं । यदि प्रदेश सरकारबाट पनि हुन नसक्ने प्राविधिक समस्या रहेछ भने संघीय मन्त्रालयसँग कुरा गरेर यसलाई चाँडोभन्दा चाँडो कसरी मर्मत गर्न सकिन्छ, कसरी सुचारु गर्न सकिन्छ भनेर लाग्छौं,’ कोइरालाले भने ।

प्राविधिक टोलीको रिपोर्ट प्राप्त भएपछि सम्बन्धित निकायसँग समन्वय गरी पुललाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउने प्रजिअ कोइरालाको भनाइ छ ।

उनले पुलको अवस्था जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई पुल हेर्न वा भिडियो खिच्नका लागि समेत घटनास्थलमा नजान आग्रह गरेका छन् ।

कमेन्ट लोड गर्नुस