सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–२ बाट नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा वर्षा सुनार विजयी

२०८३ असोज १५, ११:४६ खबर संवाददाता

धनगढी: कैलाली क्षेत्र नम्बर २ बाट २४ वर्षीया युवा नेत्री वर्षा सुनार नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएकी छन्। उनी क्षेत्र नम्बर २ बाट निर्वाचित हुने सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि बनेकी हुन्।

विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी उनले २०७८ सालमा नेपाल विद्यार्थी संघमार्फत राजनीतिक यात्रा सुरु गरेकी हुन्। २०७९ सालमा नेपाल विद्यार्थी संघको तर्फबाट कैलाली बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएकी थिइन्।

त्यसपछि २०८० सालमा उनलाई नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यमा मनोनीत गरिएको थियो। विद्यार्थी राजनीतिसँगै उनी महिला तथा युवा अधिकारका क्षेत्रमा समेत सक्रिय रहँदै आएकी छन्।

हाल कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायअन्तर्गत बीएएलएलबीको नवौँ सेमेस्टरमा अध्ययनरत उनी कानुनी क्षेत्रमा समेत काम गर्दै आएकी छन्। उनी कैलाली बहुमुखी क्याम्पसको महिला सेलको अध्यक्षसमेत हुन्।

विद्यार्थीकालदेखि नै जुनियर रेडक्रसमा आबद्ध भएर सामाजिक क्षेत्रमा सक्रिय उनले अन्याय र अत्याचारविरुद्ध आवाज उठाउँदै आएकी छन्। विद्यालय तथा शैक्षिक संस्थामा चर्को शुल्क वृद्धि गर्ने निर्णयदेखि गरिब तथा निमुखा नागरिकलाई अप्ठ्यारो पार्ने सरकारी निर्णयविरुद्ध समेत उनले आवाज उठाउँदै आएकी छन्।

महिला सशक्तीकरण र व्यक्तित्व विकासका क्षेत्रमा पनि उनको सक्रियता रहँदै आएको छ। महिला अधिकारसम्बन्धी सशक्तीकरण कार्यक्रम, आत्मरक्षा तालिम तथा युवामुखी विभिन्न कार्यक्रम सञ्चालनमा उनले भूमिका निर्वाह गर्दै आएकी छन्।

महिला तथा युवा अभियन्ताका रूपमा सुदूरपश्चिममा सक्रिय रहँदै आएकी उनी अब नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको महाधिवेशनमा सहभागी हुने भएकी छन्।

कमेन्ट लोड गर्नुस