सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफ्नै बोलीमा चल्न नसकिरहेका सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट

२०८३ असोज १६, ११:५२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पद सम्हालेलगत्तै प्रदेश सरकारलाई ‘फास्ट ट्र्याक’मा हिँडाउने घोषणा गरे। सबैभन्दा ठूलो चुनौती बनेको चालू आर्थिक वर्षको बजेट तत्काल ल्याउने उनको दाबी थियो। मुख्यमन्त्री नियुक्त भएलगत्तै उनले प्रदेश लामो समय बजेटविहीन नरहने र भदौ मसान्तभित्रै बजेट ल्याउने बताएका थिए। त्यसपछि पनि उनले विभिन्न सार्वजनिक कार्यक्रम र भेटघाटमा यही समयसीमा दोहोर्‍याइरहे।

तर, मुख्यमन्त्रीले तोकेको समयसीमा आयो र गयो। भदौ मसान्त सकियो, बजेट आएन। सरकारले बजेट ल्याउन नसकेपछि मुख्यमन्त्री भट्टले बोली फेरे । अर्को समयसीमा तोके। त्यसबेला उनले असोज दोस्रो साताभित्र बजेट ल्याउने दाबी गरे। तर, असोज दोस्रो साता पनि सकिएको छ। प्रदेश सरकारको हातमा भने अझै चालू आर्थिक वर्षको बजेट आएको छैन।

बजेट शून्यताको अन्त्य गर्नेै विषयमा पटकपटक सर्वदलीय बैठक पनि बसेको छ। सर्वदलीय बैठकले बजेट निर्माण प्रक्रियालाई तीव्रता दिँदै छिटो बजेट पारित गराउने सहमति पनि गरेको छ। तर, प्रदेश सरकारले अझैसम्म बजेट शून्यता अन्त्य गर्न सकेको छैन। 

बजेटविहीन अवस्थाको असर अहिले सरकारका मन्त्रालय र मातहतका कार्यालयमा प्रत्यक्ष देखिन थालेको छ। सरकारी कार्यालय सञ्चालनका लागि आवश्यक दैनिक खर्च व्यवस्थापनमा समस्या हुन थालेको छ। सरकारका नियमित गतिविधि सञ्चालन गर्नुपर्ने कार्यालयहरूमा बजेटको अभावले निर्णय कार्यान्वयनदेखि खरिद तथा भुक्तानी प्रक्रियासम्म समस्या देखिन थालेको छ।

बजेटविहीन अवस्थाको सबैभन्दा प्रत्यक्ष असर कर्मचारीमा परेको छ। प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले साढे दुई महिनादेखि तलब पाउन सकेका छैनन्। नियमित रूपमा प्राप्त हुनुपर्ने तलब रोकिँदा कर्मचारीमा आर्थिक दबाब बढ्दै गएको छ। चाडपर्वको समय नजिकिँदै गर्दा तलब नपाउनु कर्मचारीका लागि झन् गम्भीर समस्या बनेको छ।

सरकारले बजेट प्रदेशसभामा कहिले प्रस्तुत गर्छ ? भन्ने अझै टुंगो लागेको छैन। यता प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष गोकर्णप्रकाश भट्टले चार दिनभित्रै बजेट प्रदेशसभामा सार्वजनिक हुने सम्भावना रहेको बताए। ‘हामीले मन्त्रालयहरुलाई ९९ बुँदे मार्गनिर्देशन र ४० बुँदे न्यूनतम साँझा कार्यक्रम दिइसकेका हौं,’ उनले भने, ‘अहिले मन्त्रालयहरुले बजेट परिमार्जनको काम सकिरहेका छन् । दुई दिनभित्र मन्त्रालयहरुले काम सकेपछि चार दिनभित्रै बजेट सार्वजनिक हुने सम्भावना छ ।’

कमेन्ट लोड गर्नुस